नीलकण्ठ नगरपालिकाको वेवास्था र दलितहरूको आन्तरिक विवादका कारण बजेट विनियोजन गरेर पनि दलित छात्रवृत्ति रोकिएको छ ।
तीन वर्ष देखि दलितहरूको उच्च शिक्षामा पहुँच पुर्याउन नीलकण्ठ नगरपालिकाले बजेट विनियोजन गर्दै आएको भएपनि अझैसम्म वितरण गर्न नसकेको सामाजिक अभियनता श्याम मगरातीले जानकारी दिनुभयो ।
उच्च शिक्षासम्म निशुल्क शिक्षा पाउनुपर्ने दलितको अधिकार सुनिश्चित गर्नका लागि स्थानीय विद्यालयले लिने गरेको शुल्क मिनाहा गर्न माग गर्दै स्थानीय सरकार सञ्चालन भएदेखि दलित समुदायले माग गर्दै आएका थिए ।
विभिन्न चरणमा आन्दोलन समेत गरी नगरपालिकासँग दलितलाई छात्रवृत्ति दिन सहमति भएको र सहमति अनुसार नगरपालिकाले बजेट विनियोजन गरेपनि तीन वर्ष पहिले कार्यविधि अभावमा छात्रवृति नदिएको दलित समुदायको शिक्षामा पहुँचका लागि अभियान सञ्चालन गरिरहनु भएका गोपाल विकले बताउनु भयो ।
दलित समुदायका व्यक्तिहरूलाई छात्रवृत्ति दिने भनेर पनि नदिएर संवैधानिक अधिकारको नीलकण्ठ नगरपालिकाले उल्लङ्घन गरिरहेको सामाजिक अभियनता मगरातीले जातिय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमका अवसरमा बताउनु भयो ।
सबैभन्दा पछाडि पारिएको समुदायको लागि सुरुमा कार्यक्रम गर्नुपर्ने, समावेशी सिद्धान्त अनुसारको काम गर्नुपर्नेमा नगरपालिकाले बजेट छुट्याए पनि कार्यान्वयन नगरेकोले मानव अधिकार विरोधी काम भएको अधिकारकर्मी बेगबहादुर सुनारको भनाई छ ।
नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि बजेट छुट्याएको थियो । दलित छात्रवृत्तिको लागि कार्यविधि बनाए तर बजेट कार्यान्वयन गरेन । नगरपालिकाले छात्रवृत्ति दिन्छ भनेर बसिरहेका गरिव दलित समुदायले केवल आशामा मात्र सिमित भए ।
यस वर्ष पनि दलित छात्रवृत्तिका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ ।
कार्यविधि तयार भएको तर निवेदन आव्हान गरेर पनि छात्रवृत्ति रोकिएपछि दलित समुदाय शशंकित भएको दलित अगुवा गोपाल विकले बताउनु भयो ।
नगरपालिकाको कार्यविधि अनुसार वार्षिक रुपमा कक्षा ९ देखि १२ सम्म अध्यायन गर्नेलाई ८ हजार, स्नातक अध्यायन गर्नेलाई १२ हजार रुपैयाँ, स्नातकोत्तर अध्यायन गर्नेलाई १५ हजार, प्राविधिक अध्यायन गर्नेलाई ५० हजारसम्म र एमविविएस, विएन, बिई अध्यायन गर्नेलाई १ लाख रुपैयाँ दलित छात्रवृत्ति दिने उल्लेख छ ।
नगरपालिकाले कक्षा ११ र सो भन्दा माथि अध्यायन गर्नेलाई दलित छात्रवृत्ति वितरण गर्ने बताएको छ । नीलकण्ठ नगरपालिकाभित्र ईसिडिदेखि कक्षा १२ सम्म अध्यायन गर्नेको संख्या ३ हजार ५ सय ८३ जना दलित बालबालिका रहेका छन् भने कक्षा ११ र १२ मा २ सय ५७ जनामात्र रहेको नगरपालिका श्रोतव्यक्ति मेघनाथ कोईरालाले जानकारी दिनुभयो ।
नगरपालिकाका उपप्रमुख दिपक विकले दलित छात्रवृत्ति व्यवस्थापन समितिमा केही सदस्य मनोनित गर्न नसकेका कारण छात्रवृत्ति वितरण हुन नसकेको बताउनुभयो ।
नगरपालिकाले सुचना प्रकाशित गरि छात्रवृत्ति आवश्यक पर्नेले विद्यालयमा निवेदन दिन आव्हान गरेको थियो तर विवाद आयो भनेर निवेदन समेत विद्यालयहरूमा थन्किएको छ । नगरपालिकाले समानुपातिक सहभागिता अनुसार सुचना नगरेको र जिल्ला भरकालाई नगरपालिकामा अध्यायन गर्ने सबै दलितलाई छात्रवृत्ति दिनुपर्ने दलित समुदायको माग रहेको छ ।
नीलकण्ठ नगरपालिकाको ६५ लाख खर्च गरेर बन्दै गरेको दलित छात्राबास भवन समेत अलपत्र परेको छ ।
नेपाली काग्रेसका नेता समेत रहेका गोपाल विक अध्यक्ष रहेको दलित सशक्तीकरण संघले खरिद गरेको जग्गामा छात्राबास बनाउन सुरु गरिएको थियो । नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गाना नेपाली कांग्रेस नेता भएकोले सहज होला भन्ने अनुमान गरिएको थियो । तर नेताहरूको पार्टीमा फरक धार भएका कारण छात्रावास भवन बाहिरि गारो लगाएर छाडिएको छ ।
यस वर्ष नगरपालिकाले बजेट छुट्याएन भने गत वर्ष प्रदेश सरकारले उपलब्ध गराएको १५ लाख रुपैयाँ समेत फिर्ता पठाएर दलित समुदायकै अपमान गरेको विकको आरोप छ ।
