INSEC Online

📅 २०८३ जेष्ठ २१

पोखरामा मनाइयो ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस

“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते पोखरामा प्रभातफेरी गरी मनाइएको छ ।

नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । सामाजिक विकास कार्यालय कास्कीको समन्वयमा सभागृहबाट सुरू भएको प्रभातफेरी शहिदचोकस्थित मन्त्रालयमा पुगेर सभामा परिणत भएको हो ।

र्‍यालीमा सहभागीहरूले सबैको अधिकारको सम्मान गरौं, हिंसा विरूद्ध शुन्य सहनशीलता कायम गरौं’, समृद्ध नेपालका लागि महिला साक्षारता र सहभागिता आजको आवश्यकता’ लगायतका प्लेकार्ड बोकेका थिए ।

र्‍यालीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोपिला नेपाल, थ्री एन्जल्स नेपाल, जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्र लगायत विभिन्न सङ्घ संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव घनश्याम पौडेल, सामाजिक विकास कार्यालय प्रमुख इन्द्रबहादुर थापा, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक बिना शिलवाल, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्ले, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले नारालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।

साथै आजको युगमा महिलालाई सक्षम र सबल बनाउनको लागि शहरमा मात्र नभएर ग्रामीण भेगमा भएका पिछडिएका महिलाहरूको सिर्जनात्मक प्रविधिमा पहुँच बढाउनुपर्ने कुरामा उहाँहरूले जोड दिनुभयो ।

राज्यले प्रदान गर्ने सेवा प्रवाहलाई सशक्त बनाउँदै दूरदराजका महिलालाई मूलधारमा ल्याउनुपर्ने उहाँहरूको भनाइ थियो । आगामी दिनमा बन्ने नीति महिलामैत्री हुनुपर्नेमा उहाँहरूको जोड थियो ।

20230308_080303

अन्य

भिडियो