INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय खाजामा निषेध गरेको जंकफुड खनियाबासका विद्यालयहरूमा प्रयोग

सरकारले कक्षा ६ सम्मका बालबालिकालाई विद्यालयमा खाजा खुवाउने कार्यक्रम सञ्चालनमा छ । खाजा कार्यक्रमहरू धेरै स्थानहरूमा प्रभावकारी पनि भएको छ तर उत्तरी धादिङको खनियाबास गाउँपालिकाका बालबालिकामा कुपोषण निरन्तर देखिरहेको छ भने विद्यालयहरूले खुवाउने खाजामा जंकफुड खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले बताउने गरेका छन् ।

IMG_20230131_170006

सत्यदेबी आधारभुत विद्यालयमा पढ्ने बालबालिकाले धेरै जसो बिस्कुट घरतिर लिएर आउने गरेको अभिभावक सुस्मिता तामाङले बताउनुभयो । बिस्कुटमा पानी राखेर ढिँडो पकाइ खेल्ने गरेकोले बिस्कुट कहाँबाट ल्याएको भनेर सोध्दा विद्यालयले खाजाका लागि गुज्रेका बिस्कुट दिने गरेको आफूले थाहा पाएको तामाङले बताउनुभयो ।

विद्यार्थीलाई जंकफुड नखुवाउन र स्थानीय खानेकुरा खुवाउन सरकारले नै निर्देशन जारी गरेपनि खनियाबास गाउँपालिकाका विद्यालयहरूमा जंकफुड खुवाउने गरिएको पाइएको हो ।

IMG_20230201_154508

खनियाबासका सत्यदेबि आधारभुत विद्यालयमा मात्र नभएर धेरैजसो विद्यालयले खाजाका लागि आएको पैसाले जंकफुड खुवाउने गरेको अभिभावक सुनबहादुर तामाङले जानकारी दिनुभयो ।

जंकफुडका कारण कुपोषण हुने बालबालिकाको संख्या बढीरहेको र बालबालिकाले घरमा भएका खानेकुरा समेत मन नपराउने गरेको अभिभावक लक्ष्मी विकले बताउनुभयो । विकको पाँच वर्ष र चार वर्षको दुई बच्चा कुषोषण भएको छ ।

खनियाबास गाउँपालिकाको झर्लाङ मावि, वृचेतमावि रबेन्दिदेबि माविमा अध्यायन गर्ने बालबालिका समेत कहिलेकाहीँ बिस्कुट खाने गरेको अभिभावकहरूले बताएका छन् ।

झार्लाङको लुप्चेत विकटोलमा बालबालिकाहरूमा कुपोषण देखिएपछि पोषण शिक्षाका लागि गाउँ पुगेको टोलीसमक्ष विद्यालय खाजामा बिस्कुट दिने गरेकोले बालबालिकाले घरको जाउलो, गेडागुडी खान समेत नमानेको अभिभावक सृजना विकले बताउनुभयो ।

पहिले विद्यालय व्यवस्थापन समितिमा काम गरेका सुनबहादुर विक विद्यालयमा खाजा कार्यक्रम भएको, बिस्कुट चाउचाउ नभएको, त्यतिखेर अहिले जस्तो बालबालिकामा कुपोषण पनि नभएको अनुभव सुनाउँदै अहिले विद्यालयले बिस्कुट चाउचाउ दिएर घरमा भएको खानेकुरा समेत खान छाडेको गुनासो गर्नुभयो ।

IMG_20230131_172127

झर्लाङको लुप्चेत बिकटोलमा भएका २६ घरदलित समूदाय मध्ये धेरैजसोको बालबालिका दुब्ला देखिएका छन् । केही समय अघि डब्लुएचएचको सहयोगमा लिबर्ड र झर्लाङ स्वास्थ्य चौकीले कुपोषण भएका बालबालिकाको शिविर आयोजना गरेका थिए ।

त्यसपछि कुपोषित बालबालकालाई नियमित निगरानीमा १५ दिनसम्म खाना खुवाउने र सचेतना समेत गर्दै आएको छ । शिविरमा नगएका बालबालिकाहरू समेत कुपोषित केही बालबालिका समेत गाउँमा भेटिएका छन् ।

बिकटोलका दलित समूदायको करेसा बारी समेत नभएको र ज्याला मजदुरी गरेर परिवार पाल्नु पर्ने अवस्थामा रहेको कारण बालबालिकामा कुपोषणको समस्या आएको स्थानीय शिक्षक सुवास बिकले बताउनुभयो ।

विद्यालयमा जंकफुड प्रयोग हटाउन तत्काल विद्यालय व्यवस्थापन समितिको बैठक बसेर काम थाल्ने नियाबास गाउँपालिका २ नम्बर वडाअध्यक्ष अरुणकुमार पाख्रिन, ४ नम्बर वडा अध्यक्ष लिलामान तामाङ, ५ नम्बर वडा अध्यक्ष रबिन कुमार तामाङले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले यस किसिमको समस्या जानकारी भएकोले विद्यालय क्षेत्रमा जंकफुड हटाउने बताउनु भयो ।

IMG_20230202_100220

अन्य

भिडियो