चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि मतगणना स्थगित भई उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगले प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘मतदाताले रोजेको उम्मेदवार वा दललाई मत दिन पाउने अधिकार र उम्मेदवारको बढी मत ल्याई निर्वाचित हुन पाउने अधिकारको सम्बन्धित सबै पक्षबाट सम्मान हुनु पर्दछ । निर्वाचनमा सहभागी भई मतदान र मतगणनाको विश्वसनीय ढङ्गले अगाडि बढाउनु पर्दछ ।’-आयोगद्वारा जेठ १८ गते जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगले ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८’, ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६’, ‘निर्वाचन आचारसंहिता’ २०७३ तथा नेपालको प्रचलित संविधानको मर्म र भावना अनुकूल स्वच्छ र निष्पक्षताका साथ निर्वाचन प्रक्रिया सम्पन्न हुन दिनु सबै राजनीतिक दल, उम्मेदवार, निजका प्रतिनिधिहरू समेतको कर्तव्य हुने कुरालाई स्मरण गराएको छ ।
आयोगले उक्त घटनाको सम्बन्धमा अनुगमन गरी प्राप्त तथ्यको आधारमा यी र यस्ता घटनाहरूको पुनरावृत्ति हुन नदिने तर्फ आवश्यक सतर्कता अपनाउन जरूरी देखी निर्वाचन आयोगलाई जेठ १८ गते नै एक जानकारी पत्र पठाएको जनाएको छ । आयोगले उक्त घटनाको सत्य तथ्य छानबिन गरी घटनामा संलग्न दोषीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न समेत आग्रह गरेको छ ।