INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय निर्वाचन पार्टीका नेताको लागि नभई नागरिकको लागि आवश्यक

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ १७ गते गुलरियामा भएको अन्तरक्रियामा सहभागी तथा सरोकारवालाहरूले २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन पार्टीका नेताको लागि नभई नागरिकका लागि आवश्यक रहेकोले यसलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै लाग्नु पर्नेमा जोड दिइएको छ ।

Photo20170531Bardiya

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले सो अवसरमा बोल्दै प्राप्त परिर्वतनलाई स्थायी रूपमा संस्थागत गर्न, समानतामा अवसर भन्ने सिद्धान्तलाई ब्यवहारिक रूपमा कार्यान्वयन गर्ने वातावरण तयार गर्न निर्वाचनले महत्वपुर्ण भूमिका खेल्ने बताए ।

उनले स्थानीय तहको निर्वाचनले समानताको विकास र अभ्यास, स्थानीय तहको जस्तै कृषि, शिक्षा, स्वास्थ्यको विकासका लागि स्थानीय तहमा नै जनप्रतिनिधिमार्फत लागु गर्ने पनि बताए ।

Photo20170531Bardiya1

इन्सेकका अध्यक्ष प्याकुरेलले भने-‘राजनीतिक दलहरू जहिले पनि जनताको नजिक रहेर उनीहरूबाट सिक्नु पर्छ । जनताको मर्म र चाहना बुझन चुनाव आवश्यक रहेको हो । त्यसैले नागरिकलाई सम्मान गर्ने राजनीतिक पार्टीका उम्मेदवारलाई मतदाताले रोज्नु पर्छ ।’

उनले भने-‘हरेक राजनीतिक पार्टीका जनप्रतिनिधि मानव अधिकारकर्मी हुन् । उनीहरूबाट बनाइएको कानुनबाट जनता शासित हुन्छौं । सोही कारण पनि जनताको पक्षमा कानुन बनाउने उम्मेदवारलाई जिताउन स्वच्छ निर्वाचन गराउन लाग्नु पर्छ ।’

Photo20170531Bardiya2

अभियानको सदस्य संस्था मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल स्थानीय निर्वाचनलाई स्वच्छ र निश्पक्ष गराउने जिम्मेवारी रहेकोले सबैले आआफ्नो अभिभारा र भूमिका निभाउनु पर्नेमा जोड दिए ।

उनले महिलाहरूको अर्थपूर्ण सहभागिताको लागि वकालत गर्नु पर्ने, तेस्रो लिङ्गीहरूको प्रतिनिधित्व हुने सुनिश्चितता संवैधानिक रूपमा हुनु पर्ने र निर्वाचन पर्यवेक्षण राजनीतिक आस्था भन्दा माथि उठेर गर्न सक्नु पर्नेमा जोड दिएका थिए ।

सुरक्षा व्यवस्थाबारे प्रमुख जिल्ला अधिकारीसँग छलफल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल र मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालसहितको टोलीले स्थानीय निर्वाचनको सन्दर्भमा जिल्लाभरका मतदान केन्द्रको सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिएको छ । प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले मतदाताहरूले भयरहित वातावरणमा आफ्नो मतदान गर्ने अधिकारलाई सुनिश्चित गर्न सबै तहमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए ।

अन्य

भिडियो