स्थानीय तह दोस्रो चरणको निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले माइ नगरपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जेठ १४ गते राति गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा देउमाइ नगरपालिका-९ का झरेन्द्र बराल र देउमाइ नगरपालिका-८ का दिलिप बराल रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
आरोपितहरूले स्थानीय तहको निर्वाचन खारेजी गर्नुपर्ने नारा लेखिएका निर्वाचन विरोधी पर्चा पम्प्लेट टाँस्ने कार्य गरेको भेटिएकाले उनीहरूलाई गिरफ्तार गरिएको डिएसपी श्रेष्ठले बताए ।
यसअघि उक्त पार्टीका तीन कार्यकर्ता ओमप्रकाश घर्ती, इलाम जीतपुरका सालु बुढाथोकी र उनका पति धनबहादुर मगरलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो । डिएसपी श्रेष्ठका अनुसार अहिले पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।