INSEC Online

📅 २०८३ जेष्ठ २१

घाइतेहरूलाई उपचारमा अवरोध पुर्‍याएको एमालेको आरोप

ज्वालामूखी गाउँपालिका-३ उखुबारी (कोलेडाँडा) मा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच जेठ ६ गते भएको झडपमा घाइते भएका आफ्ना कार्यकर्ताहरूलाई उपचारमा अवरोध पुर्‍याएको सोही गाउँपालिकाका एमाले अध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारीले जेठ ९ गते पत्रकार सम्मेलन गरी आरोप लगाएका छन् ।

झडपमा घाइते भएका एमाले कार्यकर्ताहरूलाई थप उपचार गर्न अन्यत्र लैजान नदिएर काङ्ग्रेस कार्यकर्ताहरूले बाटोमा एम्बुलेन्स रोकेको अधिकारीको आरोप छ । बाटोमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताहरूले गाडीबाट झर्न लगाएर नागरिकता जफत गरी पठाइएकोले आफू असुरक्षित भएको अधिकारीको भनाइ छ ।

झडपमा काङ्ग्रेस कार्यकर्ताले हानेको ढुङ्गाले लागेर हात भाँचिएकी ५५ वर्षीया लोककुमारी पुरीको दुई दिन पछि जेठ ८ गते दिउँसो मात्र उद्धार गरी जिल्ला अस्पतालमा लगिएको एमालेले जनाएको छ ।

घटनापछि नजिकै रहेको मैदी स्वास्थ्य चौकी पुगेकी पुरीलाई जिल्ला अस्पताल जान भनिएको थियो । काङ्ग्रेसले जेठ ७ गते धादिङ बन्द गरेका कारण जेठ ८ गते दिउँसो मात्र सदरमुकाम पुगेको पीडित महिलाले बताइन् ।

ज्वालामूखी गाउँपालिकामा एमालेले उपाध्यक्ष सहितको बिजय सभा र काङ्ग्रेसले अध्यक्ष सहितको बिजय सभाको आयोजना गरेको थियो । सभाबाट फर्कने क्रममा काङ्ग्रेसले तयार गरेको स्वागत गेटमा गाडीले छोएपछि सडकमाथिबाट ढुङ्गा र बोतलहरू प्रहार गरिएको एमालेको आरोप छ ।

एमालेका कार्यकर्ताहरू गाडीबाट झरेर एक आपसमा झडप गर्दा गाउँपालिका प्रमुखमा निर्वाचित काङ्ग्रेसका बिनोद तिमल्सिना, काङ्ग्रेसका कार्यकर्ता नरेन्द्र भट्ट, दामोदर भट्ट घाइते भएका थिए ।

घाइते मध्ये नरेन्द्र र दामोदरको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भयो भने अन्यको जिल्ला अस्पताल धादिङमा उपचार भयो ।

अन्य

भिडियो