मध्यविन्दु नगरपालिका –१० क्षेत्रटाँडीमा अवस्थित जनता आधारभूत विद्यालयमा पिउने पानीको अभाव भएको छ । विद्यालयमा पिउने शुद्धपानीको व्यवस्थापन छैन जसको कारण विद्यार्थीहरु विद्यालय नजिकै रहेको खोल्सीमा पुगेर पानी पिउन बाध्य छन् ।
विद्यालय नजिकै पानीको मुहान नहुदा खोल्सीबाट ल्याएको पानी पिउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक नो बहादुर गुरुङ्गले बताउनुभयो । खोल्सीबाट ल्याएको पानी पिउन योग्य नभएको, तर नजिकै पानीको अन्य मुहान नभएको कारण खोल्सी कै पानी पिउनुपर्ने बाध्यता विद्यालयका विद्यार्थी र शिक्षकलाई रहेको उहाँले बताउनुभयो । गुरुङ्गले विद्यालयमा पानी शुद्धिकरणको लागि २०७६ सालमा मध्यविन्दु नगरपालिकाले फिल्टर सहयोग गरेको थियो तर ति फिल्टरहरु अहिले काम नलाग्ने भएपछि खोल्सीबाट भरेर ल्याएको पानी शुद्धिकरण नगरी पिउने गरिएको बताउनुभयो ।
विद्यालयमा एक सय दुई जना विद्यार्थी अध्ययनरत रहेका छन् भने कार्यालय सहयोगी, इसिडी सहित ११ शिक्षक तथा कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक गुरुङ्गले बताउनुभयो । विद्यालय नजिकै रहेको क्षेत्रटाँडी बस्तीका बासिन्दाहरु पनि शुद्ध पिउने पानीबाट वञ्चीत रहेका छन् ।
विद्यालय र बस्तीमा रहेको पानीको समस्या समाधानको लागि स्थलगत अनुगमन गर्दा नजिकै मुहान पत्ता लाग्न नसकेको मध्यविन्दु–१० का वडा अध्यक्ष रणबहादुर थापाले बताउनुभयो । त्यस क्षेत्रमा खेतबाट बगेर आएको पानी विद्यार्थी र स्थानीयले प्रयोग गर्न बाध्य रहेको उहाँले बताउनुभयो । विद्यालयमा रहेको समस्या मुहानको पहिचान नभएको अवस्थामा अहिले नै समाधान हुन्छ भन्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।