INSEC Online

📅 २०८३ जेष्ठ २२

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–२ भइसोरीका २० वर्षीय दिपक बोट, ३६ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।

असोज १० गते बालिकाको घर आउने बाटो नजिक विद्यालयबाट फर्कने क्रममा आरोपितहरुले सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २४ गते इलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल, धनगढीमा मङ्सिर २५ गते गरिएको र चेकजाँचका क्रममा बालिकाको पेटमा गर्भ रहेको खुलेको ईलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर दानसिंह भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

गिरफ्तार गरिएका आरोपितहरुलाई प्रहरी हिरासतमा राखि अनुसन्धान भइरहेको र अनुसन्धानपश्चात जिल्ला अदालतमा मुद्दा दायर गरिने इन्स्पेक्टर भण्डारीले बताउनु भयो ।

आरोपितहरुको डर र धम्कीका कारण बालिकाले समय मै घटनाका बारेमा जानकारी नगराएको र एक्कासी पेट दुख्यो भनेर बताएपछि चेकजाँच गराउदा घटनाका बारेमा आफूहरुलाई जानकारी भएको पीडित बालिकाका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बलात्कारपछि गर्भ रहन गएको र बालिकाको उमेर सानो भएका कारण गर्भपतन गराउन उपयुक्त हुने स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार मङ्सिर २६ गते गर्भपतनका लागि बालिकालाई सेती प्रदेशिक अस्पताल धनगढी लगिएको पीडितका बुवाले बताउनु भयो ।

अन्य

भिडियो