INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरेको कसुरमा एक वर्ष कैद

सार्वजनिक प्रयोजनका लागि बनाएको किरियापुत्री भवनमा दलितलाई निषेध गरिएको आरोपमा जिल्ला अदालत कास्कीले तीन जनालाई जनही एक वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मङसिर १९ गते पोखरा मनपा– १६ बाटुलेचौरका देवबहादुर थापा, रामबहादुर जिसी र जनक थापा क्षेत्रीलाई उक्त सजाय तोकेको हो । साथै पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिलाउनुपर्ने समेत फैसलामा उल्लेख छ ।

पोखरा मनपा–१६ बाटुलेचौरका सम्मरबहादुर सुनारको ०७६ चैतमा दुबईमा निधन भएको थियो । उहाँका दाई मोहन सुनारले बाटुलेचौरको सार्वजनिक भवनमा किरिया बस्नको लागि भवनको चावी माग्दा क्षेत्री समाजका पदाधिकारीबाट दलितलाई भवन दिन नमिल्ने बताएर गालीगलौज गरिएको थियो ।

सुनारले सार्वजनिक भवन दलितलाई प्रयोग गर्न नदिएर आफूमाथि जातीय विभेद भएको भन्दै तीन जना विरूद्ध ०७७ बैशाख १४ गते कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले सोही दिन तीन जनालाई गिरफ्तार गरी एक साता हिरासतमा राखिएको थियो । अदालतको थुनछेकको आदेश अनुसार  तीन जनानै जनही १ लाख ७० हजार रुपियाँ धरौटी तिरेर तारिखमा छुटेपछि, पटक पटक पेशी सरेर साढे दुई वर्षपछि फैसला भएको छ ।

अन्य

भिडियो