INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाता शिक्षा कमी, नमुना मतदानमा ८५ मध्ये २० मत बदर

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन विशेष मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले ८ स्थानीय तहका ६० वडामा ६० जना महिला स्वयम् सेविकालाई परिचालन गरेको छ ।

यस्तै राजनीतिक दल तथा उम्मेदवारले घरदैलो कार्यक्रम गरेरै मतदाता शिक्षा भने प्रभावकारी देखिएको छैन् । तिला गाउँपालिका ७  राँसा गाउँका जुनकली रावतले भन्नुभयो मतदान कसरी गर्ने के गर्ने कुनै पनि जानकारी नै छैन । उहाँले भन्नुभयो अहिलेसम्म मतदाता शिक्षा दिन कोही पनि आएका छैनन् ।
मतदाता शिक्षा प्रभावकारी नभएको पुष्टी सिजा र कनकासुन्दरी गाउँपालिकामा भएको नमुना मतदानबाट भएको हो । जिल्ला निर्वाचन कार्यालय जुम्लाले कात्तिक २३ गते सिंजा गाउँपालिकामा सञ्चालन गरेको नमुना मतदानमा ३७ जना मतदाताले मतदान गरेका थिए । नमुना मतदानमा खसेका ३७ मतमध्ये ८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईले बताउनुभयो ।

यस्तै कनकासुन्दरी गाउँपालिकामा सञ्चालन गरिएको नमुना मतदान केन्द्रमा ४८ मत खसेको मध्ये १२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
दुई स्थानीय तहमा गरिएको नमुना मतदानमा खसेको ८५ मत मध्ये २० मत बदर भएको हो । दुबै स्थानीय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिन्हमा छाप लगाएको देखिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
नमुना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमुना मतदानबाट पनि मतदानका बिषयमा जानकारी दिने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताउनुभयो । जिल्लाभर कुल १०६ मतदान केन्द्र, ८३ वटा मतदान स्थल र दुई अस्थायी मतदान स्थल कायम गरिएको छ ।

जिल्लाको कुल ६८ हजार ६३८ मतदाता संख्या रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । प्रदेश सभा निर्वाचन (क) मा ३६ हजार ७८३ जना र प्रदेश सभा (ख) मा ३१ हजार ८५५ जना मतदाता रहेका छन् । जिल्लामा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको छ ।

अन्य

भिडियो