स्थानीय तहको निर्वाचन अन्तरगत पहिलो चरणको निर्वाचनका क्रममा प्रदेश नम्बर ६ का १० जिल्लामा वैशाख ३१ गते बिहान ७ बजेबाट मतदान सुरु भएको छ ।
एक/दुई स्थानका मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा समयमा मतदान सुरु भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।
मतदानका क्रममा मुगु जिल्लाको खप्तड गाउँपालिकास्थित आब मतदान केन्द्रमा वारेसी राख्ने क्रममा एमाले र काङ्ग्रेसका कार्यकर्ताबिच भएको विवादले ३० मिनेट मतदान प्रक्रिया ढिला सुरु भएको निमित्त निर्वाचन अधिकारी राजीमान बुढाले बताए ।
आब मतदान केन्द्रमा भएको विवादलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जनाएको छ ।
जाजरकोट जिल्लाको भेरीगङ्गा नपास्थित कस्तुरी बोर्डिङ स्कूलको “ख” मतदान केन्द्रमा आन्तरिक व्यवस्थापनका कारण २० मिनेट ढिला मतदान सुरु भएको छ ।
सुर्खेतको सहारे गाउँपालिकाका मतदान केन्द्रमा अपाङ्ग, ज्येष्ठ नागरिक र सुत्केरी महिलाका लागि सहज रुपमा मतदान गर्न नपाएको पाइएको छ ।
दैलेखको भैरवी गाउँपालिकाको डोक्रा मतदान केन्द्रमा आमाले गर्ने मतदानमा छोराले फरक उम्मेदवारलाई दिएको भन्ने विषयमा विवाद हुँदा करिब ३० मिनेट उक्त मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको थियो । त्यसपछि यहाँ शान्तिपूर्ण तरिकाले मतदान भएको इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले जनाएका छन् ।
अन्य जिल्ला हुम्ला, जुम्ला, सल्यान, डोल्पा, कालीकोट र रुकुम जिल्लामा बिहान ७ बजेबाट शान्तपूर्वक मतदान प्रक्रिया सुरु भएको छ । बिहानको मतदानमा महिला मतदाताहरूको सहभागिता राम्रो रहेको जिल्ला प्रतिनिधिहरूले बताएका छन् ।