तिलागुफा नपा–१० रानावडामा कात्तिक १२ गते बेवारिसे फालिएको बम खेलाउँदा विष्फोट भई सोही ठाउँका तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच वर्षीया सरस्वती रानाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ ।
बिष्फोटनमा परी आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।
उहाँका अनुसार घाइतेहरूलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएर उपचार भइरहेको छ ।
घर नजिकैको कोदोबारीमा बालबालिकाहरूले खेलिरहेको अवस्थामा विस्फोट भई दुई जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका हुन् ।
घाइते बालबालिकाहरुलाई कालिकोटमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।
पुरानो सकेट बम हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।