दुहुँ र व्याँस गाउँपालिका जोड्ने दार्चुला–तिंकर सडक बन्द भएको तीन महिना वितिसक्दा समेत सुचारु नगरिएपछि यस क्षेत्रका बालबालिकाहरु बिगत तीन महिनादेखि पौष्टिक आहार पाउनबाट वञ्चित हुदै आएकाछन् ।
गत असार महिनादेखिको अवरुद्ध भएको सडक सञ्चालनमा नआएपछि पौष्टिक आहार ढुवानी हुन नसक्दा दुहु र व्याँस गाउँपालिकाका २ हजार ७ सय जना बालबालिका पौष्टिक आहार (खाजा) खानबाट वञ्चित भएका हुन् ।
पहिरो र बाढीका कारण सडक बन्द भएपछि असार महिनायता विद्यालयका बालबालिकालाई दिइने पौष्टिक आहार समेत ढुवानी हुन सकेको छैन् ।
अवरुद्ध सडक सुचारु नभएपछि व्यास र दुहु गाउँपालिकाका ४३ विद्यालयका २ हजार ७ सय बालबालिकाले विद्यालयमा दिइने दिउँसोको दिवा खाजा खान नपाएको पौष्टिक आहार परियोजना इकाइ कार्यालय, दार्चुलाका पोषण सम्पर्क व्यक्ति एकेन्द्रबहादुर बमले बताउनु भयो ।
पौष्टिक आहार खाजा कार्यक्रम व्यास गाउँपालिकाका २४ र दुहु गाउँपालिकाका १९ विद्यालयमा सञ्चालन गरिएको छ । बमका अनुसार सडक अवरुद्ध हुनु अघिसम्म दुई पालिकाका ४३ विद्यालयमा २ हजार ७ सय बालबालिकालाई नियमित खाजा उपलब्ध गराइएको थियो ।
सडक सुचारु भएलगत्तै सदरमुकाममा रहेको पौष्टिक आहारको खाद्यवस्तु ढुवानी गरिने पोषण सम्पर्क व्यक्ति बमको भनाइ छ ।
विश्व खाद्य कार्यक्रमले अनुदानको रूपमा देशभरका अधिकांश विद्यालयमा खाजा कार्यक्रम लागुु गरेको छ ।
विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो कार्यक्रम प्रभावकारी भएपनि गत असारदेखि बालबालिकालाई खाजा खुवाउन नसकिएको व्यास गाउँपालिका–६ वसन्तपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक दौलतसिह खातीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘नर्सरीदेखि पाँच कक्षासम्मका बालबालिकाले जेठसम्म दिउँसोको समयमा खाजा पाएका थिए । तर, अहिले विद्यार्थी वञ्चित भएका छन् । बालबालिकाको पढाइमा सुधारका लागि पौष्टिक आहार कार्यक्रम प्रभावकारी थियो ।’
सडक सुचारु नहुँदा व्यास र तिंकर क्षेत्रका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलाहरुले समेत सास्ती खेप्नु परेको छ । उहाँहरुले स्वास्थ्य चेकजाँच लगायतका समस्याहरु झेल्नु परेको छ ।
अहिले पनि हिकिलाभन्दा माथि सडक खुलाउने प्रयास नभएका कारण बालबालिकालाई समयमै पोष्टिक आहार उपलब्ध गराउन सकिने अवस्था नरहेको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिह धामीले बताउनु भयो ।
उहाँले तिहार अगाडी नै सडक सुचारुर गर्नका लागि महाकाली करिडोर दार्चुला तिंकर सडक विभागलाई समेत आग्रह गरिएको बताउनु भयो ।