आगामि मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि महोत्तरीमा २ सय ५८ मतदान स्थलमध्ये १ सय ४३ मतदान स्थल अति संवेदनशील रहेको जनाइएको छ ।
छिमेकी राष्ट्र भारतसँग करिब ३९ किलोमिटर खुला सीमा जुटेको महोत्तरीमा आम निर्वाचन आफैंँमा चुनौती भएको हुँदा भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी २ सय ५८ मध्ये १ सय ४३ मतदान स्थल अति संवेदनशील, १ सय १४ संवेदनशील र एउटालाई मात्र सामान्यमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिनु भयो ।
भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधि लगायतका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सोही अनुरूप सुरक्षा व्यवस्था भरपर्दो पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निर्वाचन तयारीसँगै सुरक्षा निकायले जनसम्पर्क समेत बढाउन थालेपछि जिल्लामा यसको अनुकूल प्रभाव देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी पहाडीले निर्वाचन लक्षित सुरक्षा व्यवस्था अनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको बताउनु भयो ।
सुरक्षा बन्दोबस्तीमा निर्वाचन अधिकृतको कार्यालय र उम्मेदवारको सुरक्षा, आचारसंहिताको निगरानी लगायतका विषयलाई केन्द्रित गरी सशस्त्र प्रहरीको कमान्डमा सुरक्षा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पङ्गेनीले वर्गीकरण गरिएको मतदान स्थलकोे आधारमा जिल्लाभरका चार वटै निर्वाचन क्षेत्रका मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा बन्दोबस्त मिलाइएको जानकारी दिनु भयो ।