क्षमता भन्दा तेब्बर कैदी / बन्दी राखेका कारण कैदी बन्दीहरूले पालो कुरेर सुत्नुपर्ने बाध्यता रहेको छ ।
१ सय ५० जनाको क्षमता रहेको कारागारमा अहिले ४ सय ६४ जना कैदी बन्दीहरू रहेका छन् । जस मध्ये १ सय ४४ जना कैदीहरू र ३ सय २० जना थुनुवाहरू रहेका छन् ।
जस मध्ये सबैभन्दा बढी बलात्कारका १ सय १४ जना, लागु औषधका १ सय ७ जना, कर्तव्य ज्यानका ६९ जना, मानव बेचबिखनका ५ जना रहेका छन् ।
क्षमता भन्दा बढी राख्दा कैदी तथा थुनुवाहरूलाई छालामा हुने सङ्क्रमण बढेको छ । अधिकांशलाई दादको समस्या देखिएको छ । कतिपय प्रेसर र सुगरका बिरामीहरु भएकोले छुट्टै राख्न नसकिएको कारागार प्रशासनले जनाएको छ ।
कारागारमा ६० वर्षदेखि माथि र ७० वर्षमुनीका १४ जना ज्येष्ठ नागरिकहरू रहेका छन् । कारागारमा स्वास्थ्यकर्मी भएकोले सामान्य रोगको उपचार हुने गरेको भए पनि जटिल खालका समस्याहरूको उपचारका लागि बाहिरका अस्पतालमा रेफर गर्ने गरेको कारागार प्रशासनले जनायो ।
क्षमता भन्दा बढी कैदी /बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको र कारागारको अवस्था जीर्ण भएकोले जोखिम पनि त्यत्तिकै बढेको कारागारका जेलर जगत बस्नेतका बताउनु भयो ।
१९९० मा निर्माण भएको जिल्ला कारागार भवन जीर्ण बनेको छ । कारागारका दुई भवन रहेकोमा दुबै भवन जीर्ण छन् ।
जेलर बस्नेतले कारागार भवन जीर्ण भएकाले नयाँ ठाउँमा स्थानातरण गर्ने भनेर ओमसतिया गाउँपालिका–८ मा साढे ६ बिगा जग्गा खाली रहेको र सो जग्गा सिद्धार्थनगरपालिकाले किनेकोले सोही ठाउँमा स्थानातरण गर्नका लागि जिल्लास्तरबाट निर्णय गरी विभागमा पठाइसकेको बताउनु भयो ।
कारागार भवन सानो भएकाले कैदी /बन्दीले समस्या भोग्नुपरेको, खुलारूपले बस्न पाएका बस्न र सुत्न नपाएको, गर्मीमा पालो कुरेर सुत्नुपर्ने बाध्यता रहेको बस्नेतले बताउनु भयो ।
“महिनामा २५ देखी ३० जना कैदीलाई अन्यत्रै स्थानतरण गर्दै आएका छौ, कैदीलाई अन्यत्र स्थानतरण गर्न सजिलो छ । थुनुवाको हकमा स्थानतरण गर्नको लागि अदालतको अनुमति चाहिने भएकोले समस्या भएको छ ।” बस्नेतले भन्नु भयो ।
कारागार क्षेत्र सानो भएकाले कैदी बन्दीले सीपमूलक काम गर्न नसकेको कारागार प्रशासनले जनाएको छ ।
यसैगरी, देशभरी राष्ट्रिय परिचय पत्र बनाउने क्रम अगाडि बढिरहेको बेला रुपन्देही कारागारमा भने राष्ट्रिय परिचय पत्रको काम अझै सुरू हुन सकेको छैन् । कैदी/ बन्दीहरूको नागरिकताको प्रमाण पत्र र विवाह दर्ता लगायतका कागज पत्र नभएका कारण कामलाई अगाडि बढाउन नसकिएको र अझै दुई हप्ता लाग्न सक्ने कारागारका जेलर बस्नेतले बताउनु भयो ।