INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीहरू जोखिमपूर्ण यात्रा गरी विद्यालय जान बाध्य

गाउँमा विद्यालय नहुँदा परशुराम नगरपालिका–७ का २ सय ४७ विद्यार्थीहरु वर्षातका बेला जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य भएका छन ।

आधारभूत तहसम्मको विद्यालय गाउँमै रहेको भएपनि माध्यमिक तहको शिक्षा अध्ययन गर्न तीन / चार किलोमिटरको दुरीमा रहेको श्री सिद्धनाथ माध्यमिक विद्यालयमा पुग्न खोला तर्नु पर्ने भएकाले उनीहरुको यात्रा झनै जोखिमपूर्ण हुने गरेको हो ।

खोलामा पुल नभएका कारण दैनिक रुपमा विद्यार्थीहरु खोला तरेरै आउने जाने गरेकाले दुर्घटनाको उच्च जोखिम रहेको परशुराम नागरपालिका–७ का स्थानीय पदम भण्डारीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘विद्यार्थीहरु विहान विद्यालय जानका लागि घरबाट निस्किएपछि साँझ घर नपुग्दासम्म आफूहरुलाई चिन्ता लागिरहन्छ । स्थानीय सरकार र प्रदेश सरकारलाई खोलामा पुल निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि हालसम्म सुनुवाई हुन सकेको छैन् ।’

वर्षौँदेखि विद्यार्थीहरुले ज्यानको बाजी लगाएर अध्ययनका लागि जानु पर्ने भएपनि राज्यपक्षबाट पुल निर्माणका लागि अहिलेसम्म पहल हुन नसकेको कक्षा १० मा अध्ययनरत छात्रा पार्वति धामीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘यहाँका विद्यार्थीहरुले माध्यमिक तहसम्मको शिक्षा अध्ययनका लागि हरेक दिन जोखिमपूर्ण यात्रा गरेर आउने जाने गरेका छन ।’

विद्यालय नजिकै रहेको खोलामा पुल नहुँदा सादनी, कराली, भोरकुण्डा, लामीगडा र घुम्टेगडाका २ सय ४७ विद्यार्थीहरु जोखीम मोलेर अध्ययनका लागि विद्यालय आउने गरेको र कतिपय अवस्थामा शिक्षा आर्जन गर्नबाट समेत वञ्चित हुने गरेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘वर्षादका समयमा अधिकाशं दिन विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको छ । साउनदेखि कात्तिक महिनासम्म विद्यार्थीहरूलाई विद्यालय आउन जान निकै समस्या हुन्छ ।’

यस वर्षको योजनामा सादनी खोलामा पुल निर्माणका लागि प्रदेश सरकारबाट योजना पारित भइसकेको र आगामी वर्षबाट विद्यार्थीहरुलाई अध्ययनका लागि सहज हुने परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले बताउनु भयो ।

सादनी खोलाको पुल निर्माणको योजना नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको र  जतिसक्दो चाँडो टेण्डर गरी निर्माण कार्य अर्को वर्षाद भित्रै सक्ने गरी योजना अगाडी बढाइरहेको प्रमुख जोशीको भनाइ छ ।

photo20220815 dadeldhura (1)

photo20220815 dadeldhura (2)

photo20220815 dadeldhura (3)

 

 

अन्य

भिडियो