त्रिविविले सञ्चालन गरेको स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि चेकजाँच गर्ने क्रममा प्रहरीकै उपस्थितिमा कर्मचारीले दुर्व्यवहार गरेको भन्दै ०७९ साउन ४ गते हेटौँडा क्याम्पस परिसरमा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
हेटौँडा क्याम्पसस्थित परीक्षा केन्द्रमा साउन ३ गते सहभागी दुई जना छात्रालाई दुर्व्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले विरोध जनाएका छन् ।
परीक्षार्थीले चिट लुकाएको आशंकामा क्याम्पसका कर्मचारी र प्रहरी समेतले छात्राको भित्री बस्त्र समेत खोल्न लगाई खानतलासी गरेको पीडित विद्यार्थीको आरोप छ ।
विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीको समूहले हेटौँडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै तालाबन्दी समेत गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका केही विद्यार्थीले क्याम्पस भवनमा ढुङ्गा प्रहार गर्दा झ्यालका सिसासमेत फुटेका छन् ।
हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसका परीक्षार्थीको परीक्षा केन्द्र हेटौँडा क्याम्पसमा थियो ।
पब्लिक क्याम्पस प्राध्यापक सङ्घ मकवानपुर बहुमुखी क्याम्पस इकाईले पनि घटनाको विरोध गरेको छ ।
यसैबिच हेटौँडा क्याम्पस प्रशासनले घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडित विद्यार्थी, विद्यार्थीका अभिभावक, विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूसँगको छलफलपछि छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
सोही प्रतिवद्धतासँगै क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको संयोजकत्वमा एकजना अभिभावक र पाँच जना विद्यार्थी सङ्गठनका नेता सम्मिलित छानबिन समितिले घटनाको अनुसन्धान गरी प्रतिवेदन बुझाउने गरी आन्दोलन टुङ्गिएको हो ।
साथै क्याम्पस व्यवस्थापन, प्रशासन, पीडित पक्ष र विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूको छलफलपछि घटनामा संलग्न दुई जनालाई आगामी दिनमा हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत र अन्य कुनै पनि परीक्षामा सहभागी नगराउने सहमति भएको हो ।
व्यक्तिगत गोपनीयता भङ्ग हुने र मानव अधिकार उल्लङघन नै हुने गरी भएको घटनाको बिरोध अधिकारकर्मी सङ्घसंस्था लगायत सबै विद्यार्थी सङ्गठनले गरेका थिए ।
