भैरहवास्थित प्रदेश स्तरीय बाल सुधार गृहमा असार ७ गते झडप हुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेल र प्रहरी जवान टोपबहादुर रखाल मगर घाइते भएका छन् ।
बाल गृहमा बस्ने १८ वर्ष उमेरमाथिका किशोरहरूलाई स्थानान्तरण गर्ने तयारीको बिरोधमा रहेका किशोरहरूले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन् ।
आक्रमणबाट घाइते भएका डिएसपी पौडेलको टाउँकोमा काठको चिपर्टले हान्दा काठमा गडेको काँटीले काटेको र टाउकोमा तीन वटा टाँका लगाइएको छ भने रखालको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले बताउनु भयो ।
बालसुधार गृहमा भएको यो पहिलो घटना भने होइन् । पटक पटक विभिन्न घटना घटाइरहेका विवादमा परेका किशोरहरूले बाल सुधार गृहको भवनको सिसा समेत तोडफोड, पंखाहरु तोडेको प्रहरीले जनायो ।
६० जनाको क्षमता भएको बाल सुधार गृहमा हाल १ सय १० जनालाई राखिएको छ ।
प्रहरीले असार ७ गते १८ वर्षमाथि उमेर समूहका कानुनको विवादमा परेका हरूलाई स्थान्तरणका लागि सम्झाउन गएको बेला प्रहरीमाथि एक्कासी आक्रमण भएको एसपी रेग्मीले बताउनु भयो ।
किशोरहरूले बाल सुधार गृहमा तोडफोड र बेडमा आगजनी गरे पछि दमकल प्रयोग गरेर आगजनी नियन्त्रणमा ल्याएको छ ।
प्रहरीले घटनास्थलबाट किशोरहरूले प्रयोग गरेको १५ थान मोबाइल, १० वटा फलामको झिर, काठका टुक्रा र चक्कु बरामद गरेको छ ।
प्रहरीमाथि आक्रमण गरेकाे आरोपमा प्रहरीले १७ जना किशोरहरूलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।