स्थानीय तहको निर्वाचनमा बाल अधिकार अनुगमन कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

जिल्ला बाल अधिकार अनुगमन समिति काठमाडौँको आयोजनामा वैशाख १५ गते आयोजित निर्वाचनमा बाल अधिकार अनुगमन अभिमूखीकरण कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका योजना अधिकृत घनश्याम तिमल्सिनाले निर्वाचनमा राजनीतिक दलहरूले बालबालिकालाई विभिन्न गतिविधिमा प्रयोग गर्न सक्ने हुनाले प्रभावकारी पर्यवेक्षण गर्नु पर्नेमा जोड दिए ।
जिल्ला बालकल्याण समितिकी देवकी आचार्यले राजनीति दलहरूबाट निर्वाचनमा बालबालिकालाई जोखिम कार्यमा प्रयोग गर्न सक्ने हुनाले बाल अधिकार अनुगमन कार्यमा सहायोग पुर्याउने उद्देश्यले अभिमूखीकरण गरिएको बताइन् ।
अभिमूखीकरण कार्यक्रममा बाल अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
जिल्ला बालकल्यण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले जिल्ला बालकल्याण समिति, इन्सेक, सिविन, सिविस, काठमाडौँ महानगरपालिका, काठमाडौँ जिल्ला समन्वय समितिका प्रतिनिधि रहने गरी जिल्ला बाल अधिकार अनुगमन समिति काठमाडौँ गठन गरिएको थियो ।