INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनमा भक्तपुरलाई बालबालिका प्रयोग मुक्त बनाइने

जिल्ला बालकल्यण समिति भक्तपुरका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचन सुरू हुनु अघि र निर्वाचन सम्पन्न भएपछि समेत बालबालिकाको प्रयोग निर्वाचनका कुनै पनि गतिविधिमा गर्न नपाइने गरी रोक लगाइएको बताएका छन् ।

जिल्ला बालकल्याण समितिको आयोजनामा वैशाख १५ गते भक्तपुरमा आयोजित निर्वाचनमा बाल अधिकार अनुगमन तथा विद्यालय शान्ति क्षेत्र सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

निर्वाचन अघि, निर्वाचनका दिन र निर्वाचन पछि विजय र्‍यालीमासमेत कुनै पनि दल वा उम्मेदवारले बालबालिकालाई चुनावको प्रचारप्रसार, र्‍याली, पोस्टर टाँस्न, पर्चा बाँड्न वा निर्वाचनका दिन लाइनमा राख्न समेत नपाइने गरी रोक लगाइएको उनले बताए । भक्तपुर जिल्लालाई निर्वाचनमा बालबालिका प्रयोग मुक्त जिल्ला बनाउन सबै राजनीतिक दलहरूलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले आग्रह गरे ।

यसअघि वैशाख १४ गते जिल्ला बालकल्याण समिति भक्तपुरले आयोजना गरेको निर्वाचन बाल अधिकार अनुगमन तथा विद्यालय शान्ति क्षेत्र सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालासँग भएको अन्तरक्रिया राजनीतिक दलका प्रतिनिधिहरूले आगामी चुनावमा भक्तपुरलाई बालबालिकाको प्रयोग मुक्त जिल्ला बनाउने प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरेका थिए ।

निर्वाचनमा बालबालिकाको प्रयोग भए नभएको जानकारी लिन महिला विकास अधिकृत नीला घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ ।

अन्य

भिडियो