निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सुसम्पन्न गर्न गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

निर्वाचन आयोगले वैशाख १४ गते काठमाडौँमा आयोजना गरेको गैर सरकारी संस्थाका प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले नगर, वडा र स्थानीय स्तरसम्म गैससको पहुँच भएकाले मतदाता शिक्षालाई प्रभाकारी रूपमा लैजान र मतदाताको मतदान गर्ने अधिकार सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण भूमिका निभाउन आग्रह गरे ।
आचार संहिताको परिधिमा रहेर तथा आचार संहिता पालना गरेर मतदाता शिक्षा अभियानमा लाग्न सुझाव दिँदै उनले मतदाता बिचमा हुने अपवित्र क्रियाकलापलाई निश्तेज गर्ने कार्यमा गैससले सहयोग पुर्याउने अपेक्षा गरे ।

स्थानीय निर्वाचनका लागि राजनीतिक दलहरूको सामूहिक प्रतिबद्धता हुन नसकेको अवस्थामा निर्वाचन आयोग स्थानीय निर्वाचनमा जुटिसकेकोले यसमा सबैको सहकार्य र समन्वय आवश्यक रहेको आयोगका प्रमुख आयुक्त यादवले बताए ।
कार्यक्रममा निर्वाचन आयोगका सदस्य इला शर्माले लोकतन्त्रको पहिलो अभ्यास स्थानीय निर्वाचन नै भएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनले मात्रै लोकतन्त्रलाई बलियो बनाउने बताइन् ।
निर्वाचन आयोगका सदस्य गोपिनाथ मैनालीले मतदातालाई मतदान गर्ने शिक्षा दिने कार्यमा गैसस प्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहने हुनाले यो छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए ।