मधेस प्रदेशका जिल्लाहरुमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचानका लागि राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवारहरुले निर्वाचन आचार संहिता विपरित प्रचार प्रसार सामग्री तथा बालबालिकाको प्रयोग गरेको पाइएको छ । निर्वाचन आचार संहिता विपरित टाङ्गिएको प्रचार प्रसार सामग्रीहरु निर्वाचन आयोगले सुरक्षाकर्मी लगाएर हटाउने कार्य सुरु गरिएको छ । धनुषामा स्थानीय तह निर्वाचनका लागि मतदान स्थल घटाएको छ भने मतदान केन्द्र थपिएको जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलका अनुसार राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरित सदरमुकाम राजविराजमा टाङ्गेका फ्लेक्स ब्यानर, तोरण, झण्डा र पोष्टरहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले वैशाख २१ गतेदेखि हटाउन सुरु गरेको छ ।
पटक–पटक राजनीतिक दलहरुलाई आचारसंहिता विपरित टाङ्गिएका र टाँसिएका ब्यानर, पोष्टर हटाउन आग्रह गरेपनि दलहरुले चासो नदेखाएपछि म्यादी प्रहरी, प्रहरी र सशस्त्र प्रहरीको सहयोग लिएर राजविराजको बजार क्षेत्र र सार्वजनिक स्थलमा राजनीतिक दलहरुले टाङ्गेका र टाँसेका निर्वाचन प्रचार प्रचारका सामग्री हटाउन थालेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताउनु भयो । आचारसंहिता विपरित प्रचारप्रसार भइरहेको भन्दै इन्सेक सप्तरीले मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई प्रमाणसहित ध्यानाकर्षण गराउँदै आएको थियो ।
निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४ को दफा १२ (ज) मा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ ।

धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार निर्वाचन आचारसंहिता विपरित जनता समाजवादी पार्टीका बटेश्वर गाउँपालिका अध्यक्षका उम्मेदवार राजकिशोर महतो र वडा नं. २ का वडाध्यक्षका उम्मेदवार श्रवणकुमार महतो चुनाव चिन्ह अंकित छाता कार्यकताहरुलाई वैशाख २१ गते निःशुल्क प्रदान गरि बालबालिकाहरुको साथ घरदैलो कार्यक्रम गरेको छ ।
निर्वाचन आचार संहिता विपरित ढल्केवर लगायतका स्थानहरुमा टाङ्गेको प्रचार प्रसार सामग्री सुरक्षाकर्मीले हटाउने कार्य सुरु गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि जिल्लामा मतदान स्थल घटाइएको छ भने मतदान केन्द्र थपिएको छ । निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीका अनुसार २०७४ सालको निर्वाचनमा ३ सय २६ मतदान स्थल रहेकोमा आगामी निर्वाचनका लागि ३ सय २३ वटा कायम गरिएको छ भने ५ सय ४८ मतदान केन्द्र रहेकोमा यस पटक जिल्लामा ५ सय ९६ पुर्याइएको छ ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार गोडैता नगरपालिका–८ स्थित बाजार पुल नजिक नेपाली काँग्रेसले कृष्ण मन्दिरमा र जसपा पार्टीले हरिपुर्वा नगरपालिका–४ का महादेव मन्दिरमा निर्वाचन आचार संहिता विपरित निर्वाचन चिन्ह अङ्कित झण्डा टाङ्गेको पाइएको छ ।
यसैगरी एमाले), नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी, राप्रपा, जनमत पार्टी र नेपाल लोकतान्त्रिक पार्टी लगायत राजनैतिक दलहरुले सडकका पोलहरुमा निर्वाचन चिन्ह अङ्कित झण्डा र छापहरु लगाएको छ ।

यसैगरी वैशाख २१ गते मुख्य राजनैतिक दलहरु तथा जसपा पार्टीका संगठनहरुले जिल्लाका सदरमुकाम मलंगवामा निर्वाचन आचार संहिता विपरित भारतीय गाडी तथा टेम्पुहरुमा निर्वाचन अङ्कित व्यानर लगाएर गुडाइरहेका छन् ।
यसैगरी हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकामा जसपा पार्टीका कार्यकर्ताहरुले आचार संहिता उल्लङ्घन गर्दै मन्दिरहरुमा चुनाव चिन्ह र उम्मेद्वारको पोष्टरहरु टाँसेको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।
