INSEC Online

📅 २०८३ जेष्ठ २१

उदयपुर र धनकुटामा उम्मेदवारविरूद्ध उजुरी

स्थानीय तह निर्वाचन ०७९ का लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूका विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पर्न थालेका छन् ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार  प्रचलित ऐन भन्दा बढी सेवासुविधा लिएको भन्दै पाख्रिवास नगरपालिकाका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरूद्ध उजुरी परेको छ ।

नेकपा एमालेको तर्फवाट पाख्रिवास नगरपालिकाको उपमेयर पदका उम्मेदवार नम्रता देउजा गौतम र सोही पाटीवाट वडा–१० का वडाध्यक्ष पदका उम्मेदवार हरिहादुर खत्रीविरूद्ध वैशाख १४ गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठले बताउनु भयो ।

उपमेयर पदकी उम्मेदवार गौतम पाख्रिवास नगरपालिका कार्यपालिकाको गत कार्यकालमा कार्यपालिका सदस्य रहनु भएको थियो । वडाध्यक्ष पदका उम्मेदवार खत्री वडा–१० का निवर्तमान वडाध्यक्ष समेत रहनु भएको छ । उहाँहरु विरूद्धको उजुरीपत्रमा पदमा रहँदा प्रचलित ऐन भन्दा बढी सेवासुविधा लिएको आरोप रहेको निर्वाचन कार्यालय प्रमुख श्रेष्ठले बताउनु भयो ।

वैशाख १४ र १५ गते मनोनयन पत्र जाँचवुझको समय रहेको हुँदा १५ गते उजुरीको सुनवाइ हुने कार्यालय प्रमुख श्रेष्ठले बताउनु भयो । उजुरीमा उल्लेखित कुरा प्रमाणित भए उम्मेदवारी खारेज हुने र यदि गलत प्रमाणित भए उम्मेदवारले क्लीन चिट पाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उदयपुर प्रतिनिधि सुजता ढुङ्गानाका अनुसार रौतामाई गाउँपालिकाका लागि मनोनयन दर्ता गराएकाहरू मध्ये चार जना उम्मेदवारका विरूद्ध उजुरी परेको मुख्य निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी देवराज भट्टराईले बताउनु भयो ।

उजुरी पर्नेमा रौतामाई गाउँपालिकाका चित्र लेखा हुमागाईँ, गौरीमाया मगर, ज्ञानकुमारी मगर महिला सदस्य रहेका छन् । फुलमाया विक दलित महिला सदस्य पदका उम्मेदवारविरूद्ध उजुरी परेको रौतामाई गाउँपालिका निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले बताउनु भएको छ ।

अन्य

भिडियो