बेलका नगरपालिका–३ की १५ वर्षीया बालिका कविता सुनुवारको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बालिका हत्या घटनामा केही सङ्केतहरू फेला परेकाले बेलका नगरपालिका- ३ का १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया बालिकालाई चैत २२ गते अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घटनामा संलग्नता देखिने सङ्केत फेला परेपछि भारतको सिक्किम स्थायी घर भइ बेलका नगरपालिका–३ मा बस्दै आएका विनोद र १७ वर्षीया बालिकालाई अनुसन्धानका लागि उनीहरूलाई बेलका नगरपालिका–३ बाट गिरफ्तार गरेको एसपी बोहोराले बताउनु भयो ।
अनुसन्धानका लागि गिरफ्तारीमा परेकी बालिकासँग मृतक बालिकाको टेलिफोन सम्पर्क भएको प्रमाणका आधारमा गिरफ्तार गरेको एसपी बोहोराले बताउनु भयो ।
मृतकको टाउकोमा ढुङ्गा र सीसाले प्रहार गरी हत्या गरेको प्रहरीले जनायो । शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको छ ।
१५ वर्षीया बालिका कविता सुनुवारको चैत २२ गते हत्या गरिएको अवस्थामा बेलका नगरपालिका–३ स्थित यसोदा खोलामा शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजबहादुर दाहालले बताउनु भयो ।
एसइइ परीक्षा लक्षित गरी विद्यालयले बिहानी सत्रमा ट्युसन क्लास सञ्चालन गरेको र विद्यालय आउने क्रममा बालिकाको हत्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बालिका हत्या घटनामा संलग्नको पहिचान गरी कारवाही गर्न माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय रामपुर अगाडि विरोध गरिरहेका छन् ।
सबैको जीउ धनको सुरक्षा गर्न माग गर्दै विद्यालय प्रशासनले चैत २२ गते विज्ञप्ति जारी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
बेलका नगरपालिकाका मेयर दुर्गा थापाले घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नु भएको छ ।