अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत २४ गते धुलिखेलमा सुरु भएको प्रतिफल प्रभाव विषयक अभिमूखीकरण कार्यक्रम चैत २५ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले परियोजना अन्तर्गतका कार्यक्रमहरू उपलब्धिमूलक तथा प्रभावकारी बनाउने कार्य इन्सेककर्मीको समान जिम्मेवारी भएको बताए ।
कार्यकारी निर्देशक गौतमले कार्यक्रमलाई सफल बनाउने कार्यमा क्षेत्रीय कार्यालय बढी जिम्मेवार हुनु पर्ने उल्लेख गर्दै अभिमूखीकरणमा सिकेका कुरा र संस्थाले अवलम्बन गरेको प्रणाली सबैले मिलेर कार्यान्वयन गर्नु पर्ने बताए ।
दुई दिने सो कार्यक्रममा डिल्ली आचार्य र अनेके सरमानले सहजीकरण गरेका थिए । उनीहरूले परियोजना अन्तर्गतका कार्यक्रमलाई कसरी उपलब्धिमूलक र प्रभावकारी बनाउने भन्ने विषयमा जानकारी गराउँदै कार्यक्रमको प्रतिवेदन ढाँचा तथा प्रतिवेदन लेखनशैलीका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका कार्यक्रम व्यवस्थापक, पाँच ओटै क्षेत्रका क्षेत्रीय संयोजक, कार्यक्रम फोकल पर्सन र प्रलेख अधिकृतको सहभागिता रहेको थियो ।