अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम चैत १५ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले मानव अधिकार रक्षकको विषय संवेदनशील भएकाले यस विषयमा राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिनु भयो ।
मानव अधिकार रक्षकहरू असुरक्षित रहेको विषयमा उपमेयर ढकालले राज्यले सुरक्षाको प्रत्याभूति दिलाउनु पर्नेमा जोड दिँदै मानव अधिकार रक्षकहरू खुलेर काम गर्न पाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणका लागि राज्यले कानुन बनाउनु पर्नेमा जोड दिनु भयो ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै स्थानीय तहमा काम गर्ने मानव अधिकार रक्षकको योगदानको स्थानीय तहले कदर गर्नु पर्ने सुझाव दिनु भयो ।
संयोजक सुवेदीले मानव अधिकार रक्षकको पहिचान, क्षमता अभिवृद्धि र समन्वय सहकार्यमा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
