INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीरूबिच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार

विजयनगर गाउँपालिका– १ गुगौलीस्थित दुधाधारी माध्यामिक विद्यालयमा विद्यार्थीहरूबिच चैत ६ गते झडप भएको छ ।

झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले आठ राउण्ड अश्रु ग्याँस फायर भएको डिएसपी भण्डारीले जानकारी दिनु भयो ।

कक्षा १० मा अध्ययनरत १६ वर्षीय कैलाश सुनार, १७ वर्षीय केशव सुनार र १७ वर्षीय धनबिर सुनारलाई प्रहरी नआउन्जेलसम्म सुरक्षाका लागि विद्यालयको कम्प्युटर कोठामा ताला लगाएर राखेको अवस्थामा अर्को पक्षका विद्यार्थीका आफन्तले ढुङ्गामुढा र इँट्टा प्रहार गरी विद्यालयको झ्यालढोका फुटाएर कुटपिट गरेका थिए ।

उनीहरूले चार थान कम्प्युटर र एक थान ल्यापटप फुटाल्नुका साथै सुरक्षा दिनका लागि आएका प्रहरीहरूमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

अवस्था नियन्त्रणमा लिने क्रममा १२ जना नेपाल प्रहरीका सुरक्षाकर्मी र तीन जना शसस्त्र प्रहरीका गरी १५ जना सुरक्षकर्मीघाइते भएका थिए ।

टाउको, हातगोडा, ओठ लगायतका अङ्गमा चोट लागेका घाइतेहरूको उपचार सञ्जिवनी अस्पतालमा गरी डिस्चार्ज गरिएको छ ।

घाइते हुनेहरूमा इन्स्पेक्टर केशवराज ज्ञवाली, इन्स्पेक्टर ऋषिराज पछाई, इन्स्पेक्टर टिकाराम अर्याल, प्रहरी हवल्दार भुवन बिष्ट, प्रहरी हवल्दार राजु न्यौपाने, प्रहरी हवल्दार रमेश खड्का, प्रहरी जवान बमबहादुर जिसी, प्रहरी जवान खेमबहादुर दर्लामी, प्रहरी जवान खिमा कुँवर, प्रहरी जवान सन्देश्वर चौधरी, प्रहरी जवान श्यामसुन्दर दुसाद, प्रहरी जवान जोगेन्द्र केसी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैत २ गते कक्षा १० मा अध्ययनरत दुई जना विद्यार्थीबिच होली खेल्ने क्रममा भएको विवादलाई लिएर झडप भएको विद्यालयका प्रधानाध्यापक सुग्रिमप्रसाद कोरीले जानकारी दिनु भयो ।

Promo-01

विद्यार्थीहरूको घरमा गइ सम्झाएर विद्यार्थीलाई उपचारको व्यवस्थासमेत मिलाएर चैत ६ गते दुवै पक्षका विद्यार्थीका अभिभावकलाई छलफलका लागि विद्यालयमा बोलाउनका लागि पत्र पठाइएको थियो ।

छलफलका लागि अभिभावक आइनपुग्दै विजयनगर गाउँपालिका–४ का स्थानीय र घाइते विद्यार्थीहरूका तर्फबाट ६ जना स्थानीय विद्यालय परिसरमा प्रवेश गरी ढुङ्गामुढा, इँट्टा र फलामका छडहरू प्रहार गर्दा विद्यालयमा तनाव सृजना भएको हो ।

तनावपछि विद्यालयका प्रधानाध्यापक सुग्रिमप्रसाद कोरीले इलाका प्रहरी कार्यालय गणेशपुरमा खबर गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । उक्त घटनापछि विद्यालय बन्द रहेको छ ।

अन्य

भिडियो