INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसापीडित महिलाद्वरा पतिविरुद्ध अदालतमा उजुरी दर्ता 

गुराँस गाउँपालिका–६ पिलाडीकी २५ वर्षीया निर्मला रावल (ओली)लाई २९ वर्षीय पति लोकबहादुर ओलीले फागुन ६ गते कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले फागुन ३० गते दैलेख जिल्ला अदालतमा घरेलु हिंसा सम्वन्धी मुद्दा दर्ता गराउनुभएको छ । 

उनीहरूबिच सात वर्षअघि विवाह भएको थियो । पाँच वर्षका छोरा इन्द्र ओलीको जन्मदर्ता बनाए पनि पतिले नागरिकता र विवाह दर्ता समेत नबनाइदिएको उजुरीमा उल्लेख छ । 

घरसल्लाहमा पहिलेदेखि कोहलपुर आफन्तकोमा बसालेर छोरा इन्द्रको पढाइ चलेकाले अहिले पनि कोहलपुरमै रहेको पीडितले बताउनु भयो ।

पीडित महिला डुङ्गेश्वर गाउँपालिका–३ थालिकाँडास्थित माइतीमा बस्दै आउनु भएको पीडितले बताउनु भयो ।

अदालतमा दर्ता भएको यो मुद्दामा अदालती तहकीकात प्रक्रिया सुरु भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले बताउनु भयो । 

घरेलु हिंसा मुद्दामा अदालती तहकीकातमा पीडितले दिएको उजुरीको फोटोकपी सहित २१ दिनभित्र लिखत प्रति उत्तर बुझाउन आरोपित पक्षलाई म्याद बुझाउनेतारेख लगाउँदै मेलमिलाप हुनसक्ने हकमा मेलमिलाप केन्द्रमा पठाउने र मेलमिलाप हुन नसके प्राप्त प्रमाणका आधारमा न्यायाधीशबाट फैसला गरिन्छ । 

मेलमिलाप हुन नसके पीडित र आरोपित पक्षका साक्षी बुझ्नेदुवैको बयान लिने र अदालतले फैसला गरुञ्जेल झण्डै ६ महिना समय लाग्दछ । अदालतमा लामो प्रक्रिया हुने भएकोले सम्झाइबुझाई गर्दा सुध्रिने अवस्थाका मुद्दाहरु प्राय प्रहरीमा पुग्ने गरेका छन् ।   

अन्य

भिडियो