INSEC Online

📅 २०८३ जेष्ठ २१

अनियमितता गरेको आरोपमा स्वास्थ्य प्रमुखमाथि दुर्व्यवहार

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य प्रमुख ५४ वर्षीय टिकाराम जैसीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा सङ्गठनमा आबद्ध कार्यकर्ताले फागुन ३० गते मोसो दलेर जुत्ताको माला लगाई दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनु भएको छ ।

जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र जनताको नाममा आएको रकम भ्रष्टाचार गरेकाले सो कार्य विरूद्धको खबरदारी मात्र गरिएको सो पार्टी निकट युवा सङ्गठनका विराजन शाहीको भनाइ छ ।

सो सङ्गठनले फागुन ३० गते विज्ञप्ति जारी गर्दै स्वास्थ्य प्रमुख जैसीले कोभिड नियन्त्रण तथा अस्पतालका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट आ.व ०७७/०७८ मा प्राप्त २ करोड १२ लाख रुपियाँमा २५ ओटा बेड र कार्यालयमा आवश्यक सामान मिलेमतोमा खरिद गरी १० लाख रुपियाँ भ्रष्टाचार गरेको, प्रदेश कार्यालयबाट कोभिड–१९ को महामारीमा बिरामी स्थान्तरणका लागि एम्बुलेन्स खरिद गर्न भनी पठाएको १० लाख रुपियाँमा एम्बुलेन्स खरिद नगरी अन्य शीर्षककमा खर्च गरी २ लाख रुपियाँ भ्रष्टाचार गरेको, जिल्ला अस्पताल जाजरकोटमा खरिद गरिएको एक्सरे मेसिन २६ लाख रुपियाँ पर्नेमा ६० लाखमा खरिद गरेको भनी ३४ लाख रुपियाँ भ्रष्टाचार गरेकोलगायत १६ बुँदे आरोप लगाएउँदै मोसो दलेर जुत्ताको माला लगाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले घटनाको विषयमा प्रहरीमा कुनै जानकारी नआएको बताउनु भयो ।

डिएसपी थापाले भन्नुभयो–‘पीडित पक्षबाट कुनै खालको जानकारी आएमा प्रक्रिया अघि बढाई आरोपितहरूको खोजी गरेर कारबाही गर्छौँ ।’

अन्य

भिडियो