१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जाजरकोटमा फागुन २४ गते भेरी नगरपालिकाको आयोजना तथा इन्सेक लगायत सामाजिक तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूको साझेदारीमा र्याली, खेलकुद, सांस्कृतिक कार्यक्रम र सडक नाटक सञ्चालन गरेर सम्पन्न गरिएको छ ।
‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले महिला हिंसाका घटनामा अझैपनि न्युनीकरण हुन नसकेको बताएका छन् ।
भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा महिला अधिकारकर्मी शोभा सिंहले महिलाको अधिकार र वर्तमान अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले महिलाविरुद्ध हुने हिंसाको अन्त्य गर्न सरोकारवाला सबै एकजुट भएर लाग्नु पर्ने भन्दै भेदभाव र हिंसा रहित समाज बनाउन सबैको उत्तिकै भुमिका रहेको बताउनु भएको थियो ।
कार्यक्रममा उपस्थित सबै जनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव र हिंसा अन्त्य गर्ने प्रतिबद्धता सहितको व्यानरमा हस्ताक्षर गरेका थिए ।
‘बलात्कारी’लाई सामाजिक बहिस्कार गरौँ, बाल विवाह न्युनीकरण गरौँ, महिला हिंसा अन्त्य गरौँ लेखिएका प्लेकार्ड सहित बजार परिक्रमा गरिएको थियो ।
भेरी नगरपालिकाको आयोजना तथा इन्सेक जाजरकोट, सहकर्मी समाज, सुन्दर नेपाल, यार्सन नेपाल, पहाडी क्षेत्र विकास अभियान, मानव अधिकार रक्षक सञ्जाल जाजरकोट, महिला मानव अधिकार रक्षक सञ्जाल लगायतको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।



