डा.सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले माघ १२ गते जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सतिश साहलाई आक्रमण गरी घाइते बनाएका छन् ।
जनकपुरबाट कामको सिलसिलामा बर्दिबासतर्फ जाने क्रममा किसान आन्दोलन गर्दै आएका जनमत पार्टीका कार्यकर्ताहरूले लाठी र भाटासहित प्रदर्शन गर्ने क्रममा डा.साहमाथि आक्रमण गरेको पीडित पक्षको आरोप छ ।
जनमत पार्टीका कार्यकर्ताहरूले डा.साह सवार सरकारी गाडी प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको गाडीमा तोडफोड गरेका छन् ।
जनमत पार्टीका कार्यकताहरूले गरेको आक्रमणबाट डा.साहको ओठमा चोट लागेको छ । घाइते साहको ओठमा आठ ओटा टाँका लगाइएको छ । घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।