चिचिला गाउँपालिका–२ का वडाध्यक्ष ४० वर्षीय मीरबहादुर राईलाई अपरिचित व्यक्तिले माघ ४ गते ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।
अपरिचित व्यक्तिले वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गरेको विषयमा पीडितले माघ ४ गते साँझ मौखिक जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुभेष अधिकारीले बताउनु भयो ।
गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा चिचिला गाउँपालिका–२ स्थित छटर्निङ्ग भनिने ठाँउमा अज्ञात पक्षले ढुङ्गा प्रहार गरेको गाउँपालिका अध्यक्ष राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
ढुङ्गा प्रहारबाट हातमा सामान्य चोट लागेको र चिचिला स्वास्थ्य चौकीमा उपचार गराएको पीडितले बताउनु भएको छ । ढुङ्गा प्रहारबाट वडाध्यक्ष राईले प्रयोग गरेको को १ ब १४५३ नम्वरको मोटरसाइकलमा सामान्य क्षति पुगेको पीडितले बताउनु भएको छ ।
जनप्रतिनिधिमाथि अपरिचित व्यक्तिले ढुङ्गा प्रहार गरेको घटनामा गाउँपालिकाले माघ ४ गते विज्ञप्ति जारी गरी विरोध जनाएको छ ।
“लोकतान्त्रिक शासन पद्धतिमा नागरिकहरूको माग लोकतान्त्रिक ढङ्गले सम्बोधन गर्ने व्यवस्था हुँदाहुँदै पनि जिम्मेवार व्यक्ति माथि साङ्गघातिक आक्रमण हुनु निन्दनीय भएको” गाउँपालिका अध्यक्ष पासाङ नेर्वु शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कानुन बमोजिम कारबाही गरिने उल्लेख छ ।
