प्रत्येक वर्षमार्च २४ तारिखका दिन अन्तर्राष्ट्रियस्तरमा मनाइने गरिएको सत्यको अधिकार दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
सत्य जान्न पाउने अधिकारको माग गर्दै द्वन्द्व पीडित तथा अधिकारकर्मीहरूले काठमाडौँको वीर अस्पतालको प्रवेशद्वार अगाडि एक घण्टा धर्ना दिए ।

‘विगत १२ वर्षको सशस्त्र द्वन्द्वका कारण आफन्तहरू गुमाएका परिवारजनले आफन्त किन गुमाउनु पर्यो भन्ने अहिलेसम्म जान्न पाएका छैनन् । परिवारका सदस्यलाई किन बेपत्ता पारियो ? यो पनि पीडित परिवारले जान्न चाहेका छन् । तसर्थ पनि नेपालमा सत्यको अधिकारको महत्व बढ्दै आएको छ ।’-अधिकारकर्मी चरण प्रसाईले भने ।
द्वन्द्वपीडित जनक राउतले एकमूठी सास रहेसम्म सत्य थाहा पाउनका लागि सङ्घर्ष गरिरहने भन्दै यथाशीघ्र द्वन्द्वकालीन घटनाको सत्य सार्वजनिक गर्न माग गरे ।

द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणले सत्य स्थापित गर्ने काममा जुट्नुपर्ने सत्य निरूपण तथा मेलमिलाप आयोगको कामप्रति आशा गर्ने ठाउँ नभएको बताए । उनले भने-‘आयोगका पदाधिकारीबिचको वैमनश्यता र विवादले पीडितका मुद्दा ओझेलमा पार्ने काम भएको छ ।’
इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार विगतमा भएको सशस्त्र द्वन्द्वका पीडितहरूले लामो समय बितिसक्दा पनि सत्यको अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् ।
अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसका अवसरमा इलाम सदरमुकाममा आयोजित कार्यक्रमका सहभागीले द्वन्द्वपीडितहरूले घटना हुनुको कारण र बेपत्ता पारिएका व्यक्तिको अवस्थाका विषयमा सत्य जान्न पाउने पीडितको अधिकारका बारेमा सरकार गम्भीर नभएको आरोप लगाए ।
द्वन्द्वपीडित तेजमाया गुरूङले द्वन्द्वका घटनाहरूको छानबिन गर्न बनाइएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विश्वासिलो ढङ्गले काम नगरेको आरोप लगाइन् ।
उनले यिनै आयोगहरूका कारण पीडितहरूले पाउने सत्य जान्ने अधिकार, परिपूरण तथा क्षतिपूर्तिका विषयहरू अहिलेसम्म पाउन ओझेलमा नै रहेको गुनासो गरिन् ।
मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिंह थेवेले अहिलेसम्मको अवस्थालाई हेर्दा सरकार, सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग एकातिर रहेको तथा मानव अधिकार आयोग र द्वन्द्व पीडितहरू अर्कातिर रहेको अवस्था देखिएको बताए ।
‘आज सानो कोठाबाट सत्यको अधिकारको खोजी सुरु भएको छ । यसलाई व्यापकता बनाएर पीडितहरूको सत्य थाहा पाउने अधिकार स्थापित गर्न लाग्नुपर्छ ।’-थेवेले भने-‘पीडितहरूको अधिकार प्राप्तिका लागि एकजुट भएर लड्नुपर्ने बेला आएको छ ।’
फोटोः रमेशप्रसाद तिमल्सिना