मानव अधिकार उल्लङ्घन तथा अल्पसङ्ख्य समुदायको मानव अधिकारको अवस्था अनुगमनका क्रममा बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालीग्राम बञ्जराले आयोगको टोलीलाई पुस २४ गते दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दिएको छ ।
मानव अधिकार र अल्पसङ्ख्य समुदायको मानव अधिकार अवस्थाका विषयमा पूर्व निर्धारित कार्यक्रम अनुसार अनुगमनका क्रममा बराहपोखरी गाँउपालिकाका अध्यक्ष शालीग्राम बञ्जरालाई भेट्न उहाँको घरमा पुगेको आयोग टोलीलाई गाँउपालिका अध्यक्षले दुर्व्यवहार गरेको राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार गाउँपालिका अध्यक्षलाई भेट्न उहाँको घरमा पुगेको अवस्था अध्यक्षले आफूलाई कठालामा समातेर अपशब्द बोल्दै दुर्व्यवहार गरेको काफ्लेले बताउनु भयो । उहाँले भन्नुभयो–अध्यक्ष ज्यूलाई पहिले नै मानव अधिकार आयोगको टोली अनुगमनका क्रममा रहेको जानकारी गराइएको थियो, पुस २४ गते उहाँले अनुगमन टोलीलाई भेट्ने बित्तिकै दुर्व्यवहार गर्नुभयो ।
जनप्रतिनिधिले आयोगको टोलीलाई दुर्व्यवहार गरेको आरोपमा गाउँपालिका अध्यक्ष बञ्जाराविरूद्ध पुस २४ गते प्रहरी चौकी हुक्नापोर, फाक्टाङमा उजुरी दिएको राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय खोटाङका प्रमुख काफ्लेले बताउनु भयो ।
प्रहरी प्रहरी हुक्नापोरका हवल्दार दीलिपकुमार सिंहले गाउँपालिका अध्यक्षविरूद्ध आयोगले उजुरी दिएको पुष्टि गर्नु भयो ।
पीडित पक्षको उजुरी पश्चात घटनाका विषयमा अनुसन्धान थालिएको हवल्दार सिंहले बताउनु भएको छ ।
