४७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छथर गाउँपालिका‒६ का ३३ वर्षीय लक्ष्मी लिम्बू र सोही ठाउँका २५ वर्षीय मोहन लिम्बूलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको पुस १८ गतेको इजालसले कसुर ठहर गर्दै ३ वर्ष ६ महिना कैद १ लाख रुपियाँ जरिबाना र पीडित सहायता कोषमा कसुरदारबाट २ हजार रुपियाँ जम्मा गराउन आदेश भएको अदालतका श्रेस्तेदार पारासमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।
पीडित महिलालाई आरोपितद्वयले ०७७ चैत २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितद्धयलाई प्रहरीले चैत २ गते गिरफ्तार गरी जिल्ला अदालतमा चैत २७ गते बलात्कार शीर्षकमा मुद्दा गरेको थियो ।
जिल्ला अदालतको ०७८ वैशाख १९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २ गते गरिएको थियो ।