अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले पुस ५ गते बर्दगोरिया गाउँपालिका–६ जगतपुरकी घरेलु हिंसा पीडित महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बर्दगोरिया गाउँपलिका–६ वडा कार्यालय र दलित महिला संघ(फेडो)को सिफारिसमा घरेलु हिसां पीडित महिला बर्दगोरिया गाउँपलिका–६ जगतपुरकी ७० वर्षीया कुकुरीदेवी डगौरालाई १० हजार रूपियाँ सहयोग प्रदान गरेको हो ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले पीडितलाई आर्थिक अभावका कारण यातायात खर्च समेत जुटाउन नसक्दा पीडितलाई न्याय पाउन समस्या भइरहेकाले पीडित डगौरालाई सामान्य आर्थिक अभावकै कारण न्याय पाउनबाट बन्चित हुन नपरोस् भनेर सहयोग गरिएको बताउनु भयो ।
पीडित डगौराले बर्दगोरिया गाउँपािलका–६ का ७१ वर्षीय जंगली डगौरासँग २०६० सालमा विवाह गरेपछि पतिले विवाह दर्ता नबनाइदिएर पटकपटक कुटपिट गर्ने , खानलाउन नदिएर घरनिकाला गरेपछिसानो झुपडी बनाएर एक्लै बस्दै आइरहेको भए पनि झुपडीमा समेत ताला लगाएर बस्न नदिएको बताउनु भयो ।
आर्थिक अभावका कारण मुद्दा लड्न नसक्ने अवस्थामा रहेका हिंसा पीडितहरुलाई मानव अधिकार सहायता कक्षमार्फत इन्सेकले सहयोग गर्दै आएको जानकारी पाएपछि पीडित महिलाले पनि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयमा निवेदन दिएको र इन्सेकले गरेको सहयोगका कारण पीडितको न्यायमा पहुँच बढाउन सहज हुने दलित महिला संघकी सदस्य बालकुमारी सुनारले बताउनु भयो ।
