पुर्नवास नगरपालिका-८ आनन्द बजारमा भारतीय सिमा सुरक्षा वलले नेपालीको हत्या गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीले फागुन २८ गते आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित भएको छ ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार बन्दका कारण कञ्चनपुरका बजार, सार्वजनिक सवारी साधनहरू, उद्योगधन्दा बन्द भएका कारण जिल्लाबासीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण महेन्द्रनगरदेखि लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएनन् । जिल्ला सुरक्षा समिति कञ्चनपुरले सुरक्षालाई मध्यनजर गर्दै पुर्नवास नपा-८ आनन्द बजारमा निषेधाज्ञा जारी गरेको छ । दुई पक्षबिच झडपको स्थिति सिर्जना हुन नदिन नेपाल र भारत दुवैतर्फठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार मोटरसाइकलमा आएका तीन जना युवाले फागुन २८ गते बिहान ९ बजे भरतपुर मनपा-५ बाह्रघरेमा ढुङ्गा प्रहार गर्दा ना ५ ख ७२४१ नम्बरको ट्रकको अगाडि भागको सीसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बन्दकर्ताको आक्रमणबाट ट्रकमा सवार नौ वर्षीया सृजना शर्माको निधारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गाडी तोडफोड गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

त्यसैगरी अज्ञात समूहले फागुन २८ गते दिउँसो ३ बजेको समयमा एक भारतीय ट्रकमा आगजनी गरेको छ । भरतपुर मनपा-१३ स्थित रामबाघमा ग्यारेजमा राखिएको यू पी ५३ टीटी ००३० नम्बरको भारतीय ट्रक चार जनाको समूहमा आएका अपरिचित व्यक्तिले चालकसँग चावी मागी दुई किमी पर फूलवारी चोकमा लगि पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगो कसले र किन लगाएको भन्ने बारे कुनै जानकारी हुन नसकेको प्रहरीको भनाइ छ ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार फागुन २७ गते अज्ञात समूहले बुटवल बसपार्कबाट भैरहवातर्फजाँदै गरेको एमएच १८ एए ८३ नम्बरको जिपमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिएका छन् ।
इन्सेक सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालका अनुसार कञ्चनपुर घटानको विरोधमा गरिएको बन्दले सुनसरीबासीको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण सुनसरीमा मोटरसाइकल, एम्बुलेन्सबाहेकका सवारी चल्न सकेका छैनन् । ग्रामीण क्षेत्रमा चल्ने टेम्पु र इलेक्ट्रिक रिक्सा भने छिटफुटमात्रामा चलेका छन् । इनरुवा, दुहबी, इटहरी, तरहरा, धरानलगायतका बजार र पसल खुल्ला छन् ।
इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार नेपाल बन्दका कारण फागुन २८ गते दैलेखमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेपछि यातायात सेवा सुचारु नहुँदा जिल्ला शिक्षा कार्यालय दैलेखले आयोजना गरेको पूर्ण साक्षर जिल्ला घोषणा कार्यक्रमसमेत प्रभावित भएको छ ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार कञ्चनपुर घटनाको विरोधमा आह्वान गरेको बन्दका कारण गुल्मी जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ । जिल्लाको सबै क्षेत्रमा बन्दको प्रभाव परेको छ । बजार कलकारखाना र सवारीका साधन पुर्ण रूपमा ठप्प रहेका छन् । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।
इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको कारण दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वर पूर्ण रूपमा बन्द रह्यो । बिहानैदेखि विप्लवका कार्यकर्ताले बजार र यातायात बन्द गराएपछि दिनभर बजार खुल्न नसकेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्स्पेक्टर बोधराज ओझाले जानकारी दिए ।
इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार नेपाल बन्दका कारण फागुन २८ गते अर्घाखाँची जिल्लाको जनजीवन पूर्ण रूपमा प्रभावित भयो ।

जिल्ला सदरमुकाम सन्धिखर्कबाट छुट्ने साना तथा ठूला सवारी साधन पूर्ण रूपमा ठप्प भए । गाउँगाउँ बाट सदरमुकामका लागि छुटने साना सवारी साधन पनि बन्दका कारण सदरमुकाम आएनन् । प्रेस, दुध शववाहन, एम्वुलेन्सका सवारी साधन भने निर्वाध सञ्चालन भए ।
इन्सेक कास्की जिल्ला प्रतिनिधि संगीता भाटका अनुसार नेपाल बन्दमा बजार बन्द गराउँदै हिँडेका १२ जना बन्दकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बन्दका कारण कास्कीको जनजीवन प्रभावित बनेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार तथा पसल बन्द रहेका छन् ।
इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार बन्दका कारण जिल्लाबाट बाहिरिने लामो दुरीका यातायातका साधन पूर्ण रूपमा बन्द रहेका छन् भने जिल्लामा कृषि तथा पर्यटन महोत्सव चलिरहेकोले महोत्सवलाई मध्यनजर गरी जिल्ला भित्र चल्ने यातायातका साधन र बजार बन्द आयोजकले बन्द नगरेको र बन्दमा जिल्लामा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निर्प बोहोराले बताए ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार नेपाल बन्दले कपिलवस्तुको जनजिवन कष्टकर बन्यो । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेनन् भने उद्योग कलकारखाना बन्द रहे ।
इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार नेपाल बन्दको प्रभाव पाल्पा सदरमुकाम तानसेनमा बढी र ग्रामीण क्षेत्रहरूमा कम परेको छ । बन्दका कारण पाल्पाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरू चल्न सकेनन् । सदरमुकामका पसल तथा कलकारखानासमेत बन्द रहे ।
बन्दका समयमा एम्बुलेन्स, प्रेस, मानव अधिकार र दुध तथा खानेपानीका गाडी निर्वाध चलेका थिए । बन्दका क्रममा अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले बताए ।
रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार ओलीका अनुसार कञ्चनपुर घटनाको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण फागुन २८ गते रोल्पाको जनजीवन प्रभावित भयो । बन्दका कारण दिनभर रोल्पा जिल्लाबाट बाहिरिने सबै यातायातका साधनहरू चलेनन् भने बजार तथा उद्योग कलकारखाना बन्द भए । जिल्ला बाहिरिने तथा भित्रिने यातायातका साधनहरू नचल्दा यात्रुहरू मर्कामा परे ।