INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सा बोक्सीको’ आरोपमा देवर–भाउजूलाई कुटपिट गरी अभक्ष कोच्याइयो

महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटपिट र दुर्व्यवहार गरिएको छ ।

प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका–९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उहाँकी ५५ वर्षीया भाउजू सुनैना देवीलाई कात्तिक ११ गते बिहीबार साँझ ‘बोक्सा–बोक्सी’को आरोप लगाउँदै कुटपिट गरी अभक्ष कोच्याइएको पीडित पक्षको आरोप छ ।

स्थानीयका अनुसार कात्तिक ११ गते साँझ सवा ६ बजे ४० वर्षीय शिलादेवी मण्डल, १६ वर्षीय छोरा रामउदेश मण्डल, ३५ वर्षीया दुखिया देवी र दुखियाका १५ वर्षीय छोरा कृष्ण मण्डललले दुवै जनालाई कुटपिट गरी अभक्ष कोच्याएको पीडित पक्षले आरोप लगाएको छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दुवै जनालाई स्थानीयस्तरमा उपचारका लागि भर्ना गराएको छ ।

विजयादशमी अघि शिला देवीका पति र रुपतीसँगै बसेर मदिरा सेवन गरेको र सोही रात शिला देवीको पतिको मृत्यु भएको थियो ।

त्यसपछि कात्तिक ११ गते भएको मोटरसाइकल दुर्घटनामा शिला देवीको छोरा रामउदेशको ज्यान गएपछि टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी अभक्ष कोच्याइएको प्रहरीले जनाएको छ ।

पीडित पुरुषको बायाँ आँखा र गोडामा चोट लागेको छ । घटनामा संलग्नमध्ये शिला देवीलाई प्रहरीले गिरफ्तार गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी दिनेश आचार्यले बताउनुभयो ।

उहाँले पीडितले दिएको उजुरीका आधारमा घटनामा संलग्नहरूलाई गिरफ्तार गरी कारबाही गरिने बताउनुभयो ।

पीडित र गिरफ्तार परेकालाई कात्तिक १२ गते जिल्ला प्रहरी कर्यालय (महोत्तरी) ल्याइएको महोत्तरीका प्रहरी डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

अन्य

भिडियो