INSEC Online

📅 २०८३ जेष्ठ २२

मोतीपुर घटनामा संलग्न रहेको आरोपमा एक जना गिरफ्तार, मुख्य योजनाकार रहेको प्रहरीको दावी

मोतीपुर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला सुद्धोधन गाउँपालिका–६  घर भई बुटवल उमनपा–११ देवीनगर बस्दै आएका ४४ वर्षीय साविर अलिलाई कात्तिक २ गते गिरफ्तार गरेको छ । उक्त घटनाका मुख्य योजनाकार रहेको प्रहरीले दावी गरेको छ ।

आरोपित माथि बुटवल उपमहानगरपालिका–१७ मोतीपुर औद्यौगिक क्षेत्रको जग्गा अतिक्रमणमा संलग्न रहेको, जग्गा अतिक्रमणका लागि मानिसहरूलाई उक्साउने, टोली गठन गर्ने, समिति गठन गरी अध्यक्षता गर्ने, ब्यानर निर्माण गर्ने लगायतका आरोप रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

आरोपितलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसुरमा कारबाही अगाडि बढाएर  जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको र घटनामा सङ्लग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आरोपितको साथबाट तीन थान ब्यानर, माइनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद दुई थान बरामद गरेको जनाएको छ ।

मोतीपुर औद्योगिक क्षेत्रमा असोज २४ गते जग्गा कब्जा गर्न आएका व्यक्तिहरू र सुरक्षाकर्मीबिच झडप हुँदा चार जनाको मृत्यु भएको थियो ।

औद्यौगिक क्षेत्र शिलान्यासको समयदेखि नै विवादित बनेको उक्त क्षेत्रमा विभिन्न ठाउँबाट सुकम्बासीका नाममा जग्गा कब्जा गर्ने प्रयास हुँदै आइरहेको छ ।

अन्य

भिडियो