घरेलु हिंसा लगायतका घटनाका पीडित महिलाहरूको लागि न्यायको माग गर्दै बाँके जिल्लाका महिला अधिकारककर्मी र पीडित परिवार पैदलय यात्रामा निस्किएका छन् ।
पीडित महिलाको न्यायको लागि पीडकहरूलाई कारबाहीको माग राख्न नेपालगञ्जबाट सिंहदरवारसम्मको पैदल यात्रामा निस्किएका पीडित तथा अधिकारकर्मीहरू धादिङ आइपुगेका हुन् ।
१९ औँ दिनको यात्रामा धादिङको गल्छीबाट ०७८ असोज १९ गते काठमाडौँतर्फ लाग्नु भएका अधिकारकर्मीहरूले महिलाको घरेलु हिंसाका कारण हत्या हुने गरेकोले पीडित पक्षलाई न्याय र आरोपितलाई कारबाहीको लागि दबाब सिर्जना गर्न पैदल यात्रामा रहेको बताएका छन् ।
बाँके जिल्ला जानकी गाउँपालिका–२ की ३८ वर्षीया ननपुन्नी धोबीको ०७८ साउन ५ गते राती घरेलु हिंसाका कारण हत्या गरेको पीडितका माइती पक्षको भनाइ छ ।
बाँके जिल्ला प्रहरी कार्यालयले भने झुण्डिएर आत्महत्या गरेकाले घरेलु हिंसा भए आत्महत्या दुरुत्साहन अन्तर्गत कारबाही गर्नु पर्ने जनाएको थियो ।
अधिकारकर्मीहरूको धर्ना र पीडित पक्षले कर्तव्य ज्यान मुद्दा अन्तर्गत उजुरी दिएका कारण पीडित पक्षको माग बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१७ की ५० वर्षीया निर्मला खातुनको अपहरपछि बेपत्ता भएकोले अनुसन्धान गरी कारबाही गर्न पनि अभियानकर्मीहरूकको माग रहेको छ ।
साथै लामो समय अघिदेखि निर्मला कूर्मी हराएकोले उहाँको जग्गा जमिन समेत सरकारलाई हस्तान्तरण गर्नु पर्नेमा व्यक्तिको नाममा गएका कारण रहस्यमय रहेकोले घटना अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न जिल्लामा प्रहरीले चासो नदिएकोले पीडित पक्ष र महिला अधिकारकर्मी समेत सिंहदरबार पुगेर माग सम्बोधन गाराउन पैदल यात्रामा आएको महिला अधिकारकर्मी रुबी खानले बताउनुभयो । अपहरण सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालमा ०७७ मङ्सिर १६ गते दर्ता गराइएको थियो ।
यस घटनामा पनि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीको भनाइ छ ।
पैदल यात्रामा अधिकारकर्मी र पीडित परीवारका गरी ११ जना महिला र तीन जना पुरुष रहेका छन् ।
महिलामथि भएका हिंसाका घटनामा प्रहरीले जाहेरी दर्ता नगर्ने, महिलाहरू जाहेरी दर्ताका लागि जाँदा अभद्र व्यवहार गर्ने गरेकोले मानव अधिकार संरक्षण र सुरक्षाका लागि सिंहदरबार गुहार्न जान लागेको महिला अधिकारकर्मी खानले बताउनु भयो ।