अर्को स्थानीय तहको निर्वाचन आगामी चैतमा गराउने तयारी भइरहेको बेला महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मनरा शिसवा नगरपालिका–१० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्च अदालतले चार वर्षपछि सदर गर्दै सो आदेश दिएको हो ।
सर्वाेच्चको आदेश अनुसार २०७५ असार २१ गतेको उच्च अदालतको आदेशानुसार विवादित विषयलाई दोहोर्याएर मतगणना गर्न ०७८ कातिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ ।
यस्तो थियो विवाद
नयाँ शासकीय स्वरूप अनुसार स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । ०७४ असोज २ गते गरिएको स्थानीय तहको निर्वाचनमा मनरा शिसवा नगरपालिकामा नतिजा सार्वजनिक गरिएको थियो ।
स्वतन्त्र उम्मेदवार रमेशकुमार रायले २ सय ६७ मत प्राप्त गर्नु भएको थियो । रायलाई तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार हुनु भएको थियो ।
उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले २ सय ६४ मत प्राप्त गर्नु भएको थियो ।
निर्वाचन अधिकृत आमबहादुर बाँनियाले बदर भएका मतहरू मध्येबाट तीन मतलाई चौधरीको पक्षमा जोडेर उहाँको मत पनि २ सय ६७ पु¥याइदिएको आरोप रायले लगाउँदै आउनु भएको छ ।
राय र चौधरी दुवैजनाको मत बराबर भनी घोषणा गरी गोला छान्ने क्रममा अरुण चौधरी निर्वाचित हुनु भएको थियो ।
जर्बरजस्ती तीन ओटा बदर मतलाई सदर गरी गोला प्रथा गराई चौधरीलाई जिताइएको भन्दै विजयीको दावी गर्दै आउनु भएका रायले उच्च अदालत जनकपुरमा पुनः मतगणनाको माग गर्दै मुद्दा दिनु भएको थियो ।
मुद्दामा सुनुवाइ गर्दै ०७५ असार २१ गते कानुन बमोजिम १५ दिनभित्र पुनः मतगणना गर्न उच्च अदालतले आदेश जारी गरेको थियो ।
मतको सदर र बदरमा विवाद देखिएको भन्दै अदालतले पुनः मतगणना हुनु पर्ने आदेश जारी गरेको थियो ।
गोला प्रथा गर्दा पनि निवेदकको अनुपस्थितिमा गरिएको भन्दै अदालतले निर्वाचन कसूर तथा सजाय ऐन २०६३ को दफा ४४ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम बदर हुने मत बदर नगरेको वा कानुन बमोजिम सदर हुने मत सदर नगरेको देखिएकाले दोहोर्याएर मतगणना गर्न आदेश दिएको थियो ।
उच्च अदालतको आदेशपछि अरुणकुमार चौधरीले आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालत काठमाडौँमा निवेदन दिनु भएको थियो ।
सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई नै सदर गरिदियो ।
कोभिड महामारीका कारण लकडाउनको आदेश जारी भएपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा मिति तोक्न नसकिएको अदालतले जनाएको थियो ।
असोज १० उच्च अदालत जनकपुरले दोहोर्याएर मतगणना गर्न ०७८ कात्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरेको छ ।
स्थानीय तहको चुनावमा मनरा शिसवा नगरपालिको वडा नम्बर १० मा वडाध्यक्ष पदमा नौ जना उम्मेदवारहरू रहेका थिए ।
