सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईका विभिन्न जिल्लामा फागुन १० गते साँझ मसाल जुलुस प्रदर्शन गरेको छ ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार मोर्चाले राजविराजका साथै जिल्लाका प्रमुख बजारमा फागुन १० गते साँझ मसाल जुलुस प्रदर्शन गरेको छ ।

संविधान संशोधनमार्फत आफ्ना माग सम्बोधन नगरी स्थानीय निकायको निर्वाचन मिति घोषणा गरेको विरोधमा मोर्चाका कार्यकर्ताहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार संशोधन प्रकृया थाती राखेर सरकारले निर्वाचन मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन १० गते साँझ जलेश्वरमा मसाल जुलुस प्रदर्शन गरेको छ । मसाल जुलुसको समापनमा आयोजित कोण सभालाई नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु साहले संशोधनलाई पहिलो प्राथमिकतामा राखेर मधेसीको माग सम्बोधन गर्नु पर्नेमा सरकारले चुनावको मिति घोषणा गरी मधेसमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार संयुक्त मधेसी मोर्चाले फागुन ११ गते मधेस बन्दको घोषणा गरेको छ । बन्दको पुर्व सन्धामा फागुन १० गते साँझ तौलिहवामा मोर्चाका कार्यक्रर्ताले मसाल जुलुस प्रदर्शन गरेका छन् ।
मसाल जुलुसपछि आयोजित कोण सभामा बोल्दै मोर्चाका संयोजक शैलेन्द्रप्रसाद यादवले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरिएकोले मधेसी जनतालाई धोका भएको भन्दै मधेसमा चुनाव गर्न नदिने चेतावनी दिए ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार संविधान संशोधनको प्रस्तावलाई अगाडि नबढाई सरकारले ०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको भन्दै संयुक्त मधेसी मोर्चाले फागुन १० गते साँझ जनकपुरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन १० गते साँझ नेपालगञ्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारले संविधान संसोधन नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा मोर्चाले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिकसँगै मसाल जुलुस प्रदर्शन गरेको हो ।

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर थारुका अनुसार नेपाल सरकारले २०७४ वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार फागुन १० गते साँझ गुलरियामा मसाल जुलुस निकाल्नुका साथै विभिन्न नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।
इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएको समाचार अनुसार मसाल जुलुसका कारण कुनै पनि जिल्लामा अप्रीय घटना भने भएका छैनन् ।
इन्सेक पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको विरोधमा मधेसी मोर्चाले फागुन १० गते वीरगञ्जमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
