यदुकुहास्थित शहीद पार्क संरक्षण सम्भारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रदान गरेको १ लाख रुपियाँको चेक जिल्ला इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासले यदुकुहा गाविस सचिव सन्तोषकुमार सुवेदीलाई फागुन ९ गते हस्तान्तरण गरेका छन् । 
प्रजातान्त्रिक आन्दोलनको क्रममा सहादत प्राप्त यदुकुहाको महिला शहीद स्मारक (पार्क) को सम्भार तथा संरक्षणको लागि इन्सेकले एक कार्यक्रमकाबिच १ लाख रुपियाँको चेक हस्तान्तरण गरेको हो ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले गत माघ १६ गते शहीद दिवसको अवसरमा अायोजित एक कार्यक्रममा शहीद पार्कको सम्भार र संरक्षणको लागि १ लाख रुपियाँ सहयोगगर्ने प्रतिबद्धता जनाए अनुरुप आज यदुकुहा मै गएर चेक हस्तान्तरण गरिएको हो ।
महिला शहीद पार्कको सम्भार र संरक्षणको लागि महिला शहीद स्मृति पार्क सम्भार तथा संरक्षण समितिको गठनसमेत गरिएको छ । शहीद परिवारका अवधि यादवको अध्यक्षतामा ११ सदस्य समितिको गठन गरी १ लाख रुपियाँको चेक सामूहिक रूपमा ग्रहण गरिएको थियो ।
समितिको सचिवमा गाविस सचिव सुवेदी, कोषाध्यक्ष रतनसागर यादव, सदस्यहरू अजयकुमार मण्डल, गुरुदयाल साह, प्रदिप कुमार यादव, हलखोरी मण्डल, नागेन्द्र प्रसाद मण्डल, देवकुमारी देवी मण्डल, राजवति देवी मण्डल र योगेन्द्र राम रहेका छन् ।
इन्सेकले दिएको १ लाख र गाविसले दिएको ५० हजार रुपियाँको बेग्लै कोष खडा गरिने उनीहरूले भएको छ ।
शहीद पार्क संरक्षणका लागि इन्सेकले गरेको सहयोगले उर्जा थपिएको र जिम्मेवार समेत बनाएको पूर्व सांसद शिवधारी यादवले बताए । रकमको सही सदुपयोग गरी र शहीद पार्कको सरक्षण गर्न आफू कृयाशील हुने गाविस सचिव सन्तोष सुवेदीले बताए ।
०४६ फागुन ९ गते प्रजातन्त्रको बहालीको लागि सुरु गरिएको जनआन्दोलनको तेश्रो दिन यदुकुहाको गोठकुहा टोलमा प्रहरीले चलाएको गोली लागी तीन जना महिलासहित एक बालक र एक पुरुषको घटनास्थल मै मृत्यु भएको थियो । मृत्यु हुनेमा जानकी देवी यादव, मुनेश्वरी देवी यादव, सोनावति देवी यादव, बालक उदयशङ्कर मण्डल र रामनारायण मण्डल रहेका थिए ।
तीन जना महिलाहरू प्रजातन्त्र प्राप्तिको लागि आन्दोलनको क्रममा ज्यान गुमाएकोले महिला शहीद स्मृति पार्क नामाकरण गरिएको छ ।