सामाजिक सुरक्षा भत्ता लिन गाउँबाट सदरमुकाम आएका भेरी नगरपालिकाका ज्येष्ठ नागरिकले बैंकमा लामो लाइन बस्नुपर्दा समस्या भएको गुनासो गरेका छन् ।
कोभिड–१९ को जोखिम कायमै रहेको समयमा बैंकमा दुरी कायम नगरी लामो समय लाइनमा बस्नु परेको उनीहरूको गुनासो छ ।
शारीरिक रूपमा असक्त भेरी नगरपालिका–६ गङ्गटीयाका खोरे लोहारले अरूकै सहारामा पाँच घण्टा लगाएर गाउँबाट सदरमुकाम आएको र तीन घण्टा लाइन बसेर मात्र भत्ता पाएको दुःखेसो पोख्नुभयो ।
भत्ता लिन असार ३० गते दुःख पाएपछि बरू घरमै भत्ता बाँड्ने व्यवस्था भएको भए आफूहरू जस्तोलाई सहज हुने उहाँको भनाइ छ ।
आठ महिनासम्मको भत्ता नपाएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरूले जोखिमयुक्त लामो लाइन बस्नुपरेको गुनासो गरेका छन् ।

कहिले हस्ताक्षर नमिल्ने त कहिले बैंक खाता अध्यावधिक गर्नु पर्ने, कतिपयको भत्ता अरूले निकालेर रकम हिनामिना गरिदिने भएकोले सम्बन्धित ब्यक्ति उपस्थित भएर रकम भुक्तानी दिने गरिएको नगरपालिकाले जनाएको छ ।
‘यस अघि वडा सचिवमार्फत घरमै भत्ता वितरण गर्ने गरिएकोमा ब्यापक हिनामिना भएपछि सम्बन्धित ब्यक्तिको खातामा जम्मा गर्ने प्रणालीको विकास गरिएको हो’ भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
वडा सचिवमार्फत वितरण गर्दा मरेका मान्छेको पनि लगत कट्टा नगर्ने, किर्ते हस्ताक्षर गरेर रकम खाइदिने समस्या आएपछि बैंक खातामा रकम जम्मा गर्ने गरिएको घर्तीको भनाइ छ ।