१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–२२ ओखलेडाँडाका ३३ वर्षीय विश्वराज बास्तोलालाई असार २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विद्यालयमा दुर्व्यवहार गर्ने गरेको भन्दै पीडित पक्षले आरोेपितविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा असार २३ गते उजुरी दियो ।
पीडितमा केही समयबाट झोक्राउने र कोहीसँग नबोली बस्ने जस्ता समस्या देखिएपछि पीडितका अभिभावकले उनलाई अस्पताल लगेपछि पीडितले दुर्व्यवहारको घटनाबारे बताएकी थिइन् ।
घटना बाहिर आएपछि परिवार र गाउँले मिलेर आरोपितलाई असार २३ गते कुटपिट गरेका थिए ।
कुटपिट घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय छोरेपाटनको टोलीले बास्तोलालाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगेको थियो ।
घटनाको अनुसन्धान गर्दा दुर्व्यवहारको घटना बाहिर आएपछि पीडित पक्षलाई प्रहरीले आरोपितविरूद्ध उजुरी दिन लगाएका थिए ।
पीडित पक्षको उजुरीमा पीडितलाई आरोपितले पटकपटक दुर्व्यवहार गर्नुका साथै अश्लिल सन्देश पनि पठाउने गरेको उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
कुटपिटबाट घाइते भएका आरोपितलाई सामान्य उपचारपछि गिरफ्तार गरी जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।