१३ वर्षीया बालिकालाई बोदे बर्साइन नपा–२ प्रितमपुरका ७१ वर्षीय हृदयलाल यादवले बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, कडरबोनामा दिएको उजुरी असार २४ गते दर्ता गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कडरोबोनामा उजुरी दर्ता भई सप्तरी जिल्ला अदालतबाट आरोपितलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर वीरेन्द्रकुमार पासवानले बताउनु भयो ।
पीडितको घरमा ठूला मानिसहरू नभएका बेला जेठ ३१ गते दिउँसो साढे ११ बजे घर प्रवेश गरेका आरोपितले बलात्कार गरेको भन्दै आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा असार १ गते उजुरी दिएको पीडितकी आमाले बताइन् ।
पीडितको स्वास्थ्य परीक्षण असार १ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ । आरोपित हालसम्म गिरफ्तार नभएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।