२९ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले पोखरा–१० की ५३ वर्षीया गौमती गुरुङ र रुपा गाउँपालिका–१० हंसपुर घर भइ हाल पोखरा रामबजार बस्दै आएकी ४० वर्षीया आइतीमाया गुरुङलाई असार २२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितहरुले सुरुमा आफूले सञ्चालन गरेको होटलमा राम्रो काममा लगाइदिने भन्दै काम लगाएको र केही समयपछि उनीहरुले पीडितलाई डर धम्की देखाउदै जबरजस्ती यौन कार्यमा लगाउन खोजेको आरोपमा पीडितले आरोपितहरुविरुद्ध असार २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
उहाँले आरोपितहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुर शीर्षक अन्तर्गत अनुसन्धान भइरहेको र पीडितलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २२ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।