INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २५ वर्षीय छोटु भनिने देवनारायण मण्डललाई असार १९ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार आरोपित मण्डललाई जिल्ला न्यायाधीश इश्वरमणी ओझाको इजलासले सोही दिन पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको छ ।

सामूहिक बलात्कारको घटनामा घटनालगत्तै ०७६ जेठ ५ गते गिरफ्तारीमा परेका रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने वेदप्रकाश मण्डल जिल्ला अदालतको ०७७ पुस १२ गतेको आदेशले सात वर्ष कैद सजायको फैसला गरेको थियो ।

हाल वेदप्रकाश जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । आरोपित देवनारायणसहित ६ जना विरुद्धको मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको थियो ।

घटनापछि गिरफ्तार वेदप्रकाशले बयान दिएअनुसार नै आरोपितहरू देवनारायणसहित रुपनी गाउँपालका–६ वीरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल, २० वर्षीय विद्यानन्द सरदार, २८ वर्षीय आनन्द सरदार र २८ वर्षीय ओमप्रकाश मण्डलको पहिचान भएको हो ।

पीडितका अनुसार रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च माविमा ०७६ जेठ ४ गते साँझ कञ्चनरुप नपा–११ ठेलियाका केटा साथीले बोलाएर गएको बेला आएका आरोपितहरूले साथीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेका थिए । पीडित कक्षा ११ को परीक्षा दिन आफन्तको घर आएकी थिइन् ।

पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७६ जेठ ५ गते उजुरी दिएपछि सोही दिन पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो