पोखरा महानगरपालिका–४ मानवअधिकार चोकमा असार १५ गते गरिएको जातीय विभेदविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले जात व्यवस्था उन्मूलन मोर्चा नेपाल गण्डकी प्रदेशका नेता ३१ वर्षीय ईश्वर नेपाली, जनता समाजवादी पार्टीका कार्यकर्ताहरू ३४ वर्षीय नेत्र चापागाई र ३२ वर्षीय रेशम सापकोटालाई असार १५ गते गिरफ्तार गरेको छ ।
नेपाल सरकारका अन्य चार मन्त्रालयका समेत जिम्मेवारी लिनुभएका शिक्षा विज्ञान एवम् प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले जातीय विभेद घटनाकी आरोपितलाई सहयोग गरेको भन्दै जात व्यवस्था उन्मूलन मोर्चा नेपाल गण्डकी प्रदेशले आयोजना गरेको विरोध सभामा मन्त्री श्रेष्ठको पुत्ला जलाउने क्रममा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
गिरफ्तारीपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको डिएसपी हमालले बताउनुभयो ।
इमेज टिभीकी पत्रकार रुपा सुनारलाई जातकै आधारमा आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा गिरफ्तार गरिएकी काठमाडौँ महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानलाई जमानतमा रिहा गर्ने क्रममा असार ९ गते मन्त्री श्रेष्ठ प्रहरी कार्यालयमै पुगेर प्रधानसँग लिइएको फोटो सञ्चार माध्यममा आएको थियो ।